मुक्तक
- हरिकृष्ण काफ्ले
१)
जुन हातमा घाउ देख्छु , ठेला देख्छु खील देख्छु ,
अक्सर तिनकै वरिपरि , परिस्थिति जटिल देख्छु ।
कसले कोर्यो समाजको कारुणिक चित्र यस्तो
छचल्किने हर आँखामा, उन्मुक्तिको अपील देख्छु।।
२)
महफिल त्यहिं जम्छ,जहाँ सुरापान हुन्छ ।
नपिउनेलाई कसले पुछने, पिउनेकै शान हुन्छ ।
कैयौंलाई यसैले नै उडाएर लगिसक्यो,
सम्हालेर पक्र साथी, प्यालाभित्र तुफान हुन्छ ।
३)
सङ्घर्षमा जीत सधैं साहसीकै हुनेगर्छ
कछुवाले आफ्नो घाउ, बालुवाले धुने गर्छ
मान्छेहरू दुख देखी तर्किएर भाग्ने गर्छन्,
तर दुख सधैं आइ मेरो पाउ छुने गर्छ ।
४)
परजीवी जीव जस्तै, डस्छन् टोक्छन् चुस्छन् चिल्छन् ।
सलहका हूल जस्तै, कहिले फुट्छन् कहिले मिल्छन् ।
देशप्रेमी नेता हुन् कि अजिङ्गरका सन्तति हुन् ती ?
ढुक्कसँग खान पाए, एकदिन यिनले देशै निल्छन् ।।
५)
जताजता मह मिल्छ, उतै उतै चाट्नुस् हजुर
पोशाक लाउनुस् दौरा सुरुवाल, देशभक्ति छाँट्नुस् हजुर
आसेपासे जम्मा गर्नुस् भोज गर्नुस् भतेर गर्नुस्,
यता देश भोकै सुत्छ, उता रिबन काट्नुस् हजुर ।