पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

मौसम : तीन प्रदेशमा वर्षाको सम्भावना, लुम्बिनी प्रदेशमा हावाहुरी

२०८० चैत्र १, बिहीवार ०८:२६ बजे

काठमाडौ : हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली हुने महाशाखाले जनाएको छ ।
दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको छ ।
आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।