कविता
ढुङ्गा
- भूपिन
सबैभन्दा अग्लो पहाडबाट झरेको ढुङ्गा
सबैभन्दा टाढा पुग्छ ।
म त्यही ढुङ्गा हुँ फरहान !
दुखका हजार भीरमा ठोक्किँदा पनि हात सग्लो राखेर
चोटका सयौँ भूमरीमा फस्दा पनि खुट्टा दुरुस्त राखेर
हुर्रिँदै, चित्कार गर्दै र टुक्रिँदै
त्यो ढुङ्गा तल तलसम्म खस्छ
र तिम्रो देश
यानी यो मरुभूमिसम्म आइपुग्छ !
म त्यही ढुङ्गा हुँ फरहान ।
तिमीलाई थाहा नै छ-
यस निलो ग्रहका अग्लाअग्ला हिउँघरहरू
मेरा क्रिडास्थल थिए ।
तीर चढाएका वाणजस्ता उन्नत टाकुराहरू
मैले संसार नियाल्ने उचाई थिए ।
आफ्नो घरदेखि दरबार पुग्ने सडक बनाउन
पहाड फोर्यो पण्डित प्रजातन्त्रले ।
थर्थरायो पहाड बमका बिस्फोटनहरूमा ।
सडक त बन्यो
तर म चोइटिएँ, परिवारबाट अलग्गिएँ र झरेँ तलतल
र हजार बल्ड्याङ् खाँदै आइपुगेँ यहाँसम्म ।
यहाँ आएपछि
पसिनाको मसीले
बालुवामा लेखेको मेरो कथा त
तिमीलाई थाहा नै छ फरहान ।
म यहाँ आएँ र देशमा छोरा जन्मियो ।
म यहाँ आएँ र देशमा युद्ध सुरू भयो ।
म यहाँ आएँ र मेरा बाआमा युद्धमा मारिए ।
मेरी बहिनी बलत्कृत भइ र बौलाई ।
भाइ बेपत्ता भयो ।
सबैभन्दा अग्लो पहाडबाट झरेको ढुङ्गा
सबैभन्दा टाढा पुग्छ
म त्यही ढुङ्गा हुँ फरहान ।
फरहान, अब हाम्रो भेट होला नहोला
बालुवाका ढिस्का र यी भेडाका बथानहरूलाई साक्षी राखेर
आऊ आज अन्तिमपटक बात मारौँ ।
फिर्ती टिकट झोलामा राखेर
भोली त म उड्ने छु देश
र पुग्ने छु-
भत्किएको पहाडको हाँगामा अल्झिएकी
पत्नीलाई भेट्न ।
(जसलाई बिहे लगत्तै छोडेर आएको थिएँ यो मरुभूमिमा ।)
भोली त उड्ने छु देश
र पहिलोपटक अङ्गालो मार्ने छु-
बाउको मुख नदेखी जवान भैसकेको छोरालाई ।
वेसी फाँटमा उदासीको सुसेली हाल्ने छु
पिँपिरी बजाउने छु टाकुरामा बसेर ।
बनाउने छु चौतारो-
दिवङ्गत बाआमा, बौलाही बहिनी र बेपत्ता भाइको नाममा
त्यसमा चढाउने छु देउरालीको पाती ।
सुनेको छु
आफ्नो घरदेखि दरबार पुग्ने सडक बनाउन
फेरी पहाड फोर्दै छ रे काजी गणतन्त्रले ।
पक्का छ, यसपाली पनि पहाड झर्ने छ ।
लाहुरको गुरुत्वले तान्ने ढुङ्गा न हुन् मेरो देशका युवाहरू,
म त कसैगरि अल्झने छु पहाडको हत्केलामा
तर डर छ मलाई-
खस्नेछ मेरो छोरा त्यो अग्लो पहाडबाट
र पुग्नेछ सबैभन्दा टाढा-
मिस मेलिनाको चिसो देशमा ।
मलाई थाहा छ, तिमीलाई मैले सुनाएझैँ
सुनाउने छ एकदिन मेरो छोराले मेलिनालाई
आफ्नो कथा-
'डियर मेलिना
सबैभन्दा अग्लो
पहाडबाट झरेको ढुङ्गा
सबैभन्दा टाढा पुग्छ
म त्यही ढुङ्गा हुँ ।'
कविताको युटुब भिडियो