पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

सन् २०२४ अझै तातो वर्ष हुन सक्ने, महामारीजन्य रोगको जोखिम

२०८१ वैशाख २१, शुक्रवार ०८:०४ बजे

अस्मिता रिजाल
काठमाडौं : मध्य बर्खा नआउँदै देशका अधिकांश ठाउँमा गर्मी उच्च छ । प्रिमनसुनका दुई महिना पूरै बितिसक्दा पनि वर्षा भएको छैन । चैतयता निरन्तर लागिरहेको डढेलो वैशाखको दोस्रो साता आइपुग्दा उच्च विन्दुमा पुगेको छ ।
देशभर फैलिएको वायु प्रदूषणले, हिमाली चुचुरो र स्वच्छ तालसमेतलाई दूषित बनाएको छ । तराई, पहाड र उपत्यका क्षेत्रमा तातो हावाले जनजीवन कष्टकर बनेको छ ।
त्यतिमात्रै होइन, मौसमी संक्रमण र किटजन्य रोगको प्रकोप पनि गर्मीसँगै बढ्न थालेको छ । जल तथा मौसम विज्ञान विभागले तत्काल वर्षा हुने संकेत नदेखिएको पूर्वानुमान गरेको छ । किन उच्च बन्दै छ, पृथ्वीको तापक्रम ? के अब सिजनअनुसार वर्षा हुँदैन ? डढेलोको र वायु प्रदूषणको अवस्था भयावह कसरी बन्यो ?
बढ्दै तापक्रम, थपिँदै खडेरीका वर्ष

बढ्दो तापक्रम, खडेरीका वर्ष, मौसमजन्य विपद् र त्यसबाट निम्तिरहेका असरलाई विज्ञहरूले एक आपसमा अन्तरसम्बन्धित भनेर व्याख्या गर्ने गर्छन् । तापक्रमका हिसाबले सन् २०२३ लाई सन् १८५० यताकै तातो वर्षका रूपमा वतावरण तथा जलवायुको क्षेत्रमा काम गर्ने नियामक निकायहरूले घोषणा गरे ।
नेपालको हकमा पनि सने २०२३ सन् २००० पछिको एक तातो वर्षको रूपमा सूचीकृत भएको छ । जल तथा मौसम विज्ञान विभागको वार्षिक जलवायु प्रतिवेदन अनुसार सन् २०२३ मा नेपालको वार्षिक अधिकतम तापक्रम औसतमा २७.९ डिग्री सेल्सियस पुग्यो, जुन अघिल्लो वर्षको औसत अधिकतम तापक्रमभन्दा ०.६ डिग्रीले बढी हो ।
वार्षिक न्यूनतम तापक्रम समेत औसतमा १५.६ डिग्री सेल्सियस रह्यो, जुन सामान्यभन्दा ०.५ डिग्रीले बढी हो । २०२३ मा अप्रिल र मेमा बाहेक अन्य महिनामा न्यूनतम तापक्रम सामान्यभन्दा ०.३ देखि १.५ डिग्रीसम्म बढी नै थियो । जनवरी र फेब्रुअरीमा तापक्रम बढ्दै अप्रिल दोस्रो सातादेखि गर्मी बढेको थियो, अधिकतम तापक्रम मे अन्तिममा अचानक बढेको थियो ।

जुन अन्तिमसम्म पनि तापक्रम निरन्तर बढिरहँदा तातो हावाले जनजीवन प्रभावित भएको थियो । जुन र जुलाई अर्थात् मध्य बर्खाको तापक्रम सामान्यभन्दा बढी रह्यो । सन् २०२३ को जुन सबैभन्दा गर्मी महिनामा रेकर्ड भएको थियो । सो महिना मासिक अधिकतम तापक्रम २ डिग्रीले बढेको विभागको रेकर्ड छ ।
सो वर्ष जुनको तेस्रो महिनासम्म पनि तातो हावा चलेको थियो । ९ जुनमा सन् १९७९ यताकै उच्च तापक्रम मापन भएको थियो । सोही दिन पूर्वी नवलपरासीको दम्कौलीमा अधिकतम तापक्रम ४४.८ डिग्री सेल्सियस रेकर्ड भएको विभागको रिपोर्टमा उल्लेख छ ।
सेप्टेम्बरदेखि डिसेम्बरसम्म ०.२ देखि १.३ डिग्रीले बढेको अधिकतम तापक्रमले तापक्रमले ११ जिल्लाका १२ नयाँ रेकर्ड बनाएको थियो । सन् २०२३ लाइ विभागले गर्मी तथा तातो हावाको वर्षका रूपमा व्याख्या गरेको छ ।
तापक्रम वृद्धिसँगै सन् २०२३ सुख्खा वर्षको रूपमा पनि सूचीकृत भएको थियो । औसत वर्षाका हिसाबले सुख्खा वर्ष नै रहेको विभागको रिपोर्ट छ । सो वर्ष हिउँद र बर्खायाममा गरी औसत १५७०.४ एमएम मात्रै वर्ष भयो जुन हुनुपर्ने वर्षको ९१.२ प्रतिशतमात्रै हो ।

मार्च, अगस्ट र अक्टोबरमा बाहेक अन्य महिनामा वर्षा औसतभन्दा धेरै कम भयो । हिउँदका महिनामा औसत ६० एमएल वर्षा हुनुपर्नेमा ८२ प्रतिशतसम्म कम भएको विभागको रिपोर्टमा उल्लेख छ । मार्चमा सामान्यभन्दा ६० प्रतिशत बढी र प्रिमनसुन र मनसुनका अप्रिल, मे, जुन, जुलाईलगायतका महिनामा सामान्यभन्दा १२ देखि २२ प्रतिशतसम्म कम वर्षा भएको विभागको रेकर्ड छ ।
यस्तै, अगस्टमा औसतभन्दा १५ प्रतिशत बढी, सेप्टेम्बरमा ३१ प्रतिशतले कम फेरि अक्टोबरमा ७१ प्रतिशत बढी र नोभेम्बर डिसेम्बरमा ८३ प्रतिशतसम्म कम वर्षा भएको विभागको तथ्यांक छ । सो वर्ष मनसुन एकदिन ढिलो भित्रिएको १३ दिन ढिलो बाहिरिएको थियो ।
वर्षाका हिसाबले सन् २०२३ सन् १९८१ यताको आठौँ खडेरीको वर्षमा रेकर्ड भएको छ । त्यसअघि चरम खडेरीका वर्ष १९९२, २००५, २००९, २०१२, २०१५, २०१८ थिए । यीमध्ये अधिकांश खडेरीका वर्ष सन् २००० यता नै रहेको तथ्यांकले देखाउँछ ।
विभागले सन् २०२३ लाइ गर्मी दिनहरू र तातो हावाको वर्षको रूपमा सूचीकृत गरेको छ ।

जलवायु विज्ञ मञ्जित ढकाल तातो वर्षहरू थपिँदै जानु, समयमा वर्षा नहुनुलाई जलवायु परिवर्तनसँग जोडेर व्याख्या गर्छन् । जलवायु परिवर्तन प्राकृतिक र मानवीय दुवै कारणले भइरहेको तर पछिल्ला वर्षहरूमा देखिएका अधिकांश यसका असर मानवीय कारणसँग जोडिएको उनको ठहर छ ।
“पृथ्वीको तापक्रम विगत १०० वर्षमा १ डिग्रीले बढेको छ, खनिज इन्धनको प्रयोग, यसबाट उत्सर्जन हुने कार्बनडाइअक्साइड, वन फडानीलगायतका विविध मानवीय कारणले पृथ्वीको तापक्रम बढिरहेको छ,“ उनी भन्छन् ।
एकसय वर्षदेखि उत्सर्जन भइरहेको कार्बन्डाइअक्साइडको असर यसलाई कम गरे पनि वषौँसम्म देखिइरहने उनी बताउँछन् ।
“कार्बनडाइअक्साइड यस्तो तत्व हो, जसले सूर्यको तापलाई वायुमण्डलबाट फर्किन दिँदैन र परिणामस्वरूपम वायुमण्डल तातो बन्न जान्छ र पृथ्वीको तापक्रम बढ्न पुग्छ, जलवायु परिवर्तनमा वन फडानी लगडायतका अन्य मानवीय क्रियाकलापको पनि ठूलो भूमिका छ,“ ढकाल थप्छन् । खडेरी, बेमौसमी वर्षालगायतका समस्या यिनै असरबाट सिर्जित भइरहेको उनको भनाइ छ ।
वर्षा हुन किन सकिरहेको छैन ?
जल तथा मौसम विज्ञान विभागले तत्काल वर्षा गराउने कुनै प्रणाली नेपालमा विकास नभएको जानकारी दिएको छ । मार्चदेखि मेसम्मलाई प्रिमनसुन भनिए पनि मेको दोस्रो दिनसम्म नेपालमा वर्षा हुने पूर्वानुमान छैन ।
पश्चिमी न्यूनचापीय प्रणाली शनिबारदेखि नेपाल भित्रिए पनि त्यसले ठूलो वर्षा गराउने सम्भावना नरहेको र प्रणालीसँगै त्यसमा वर्षा गराउने मोइस्चर पर्याप्त नहुँदा वर्षाको सम्भावना नरहने मौसमविद् विभूति पोख्रेल बताउँछिन् ।
वर्षा गराउने पश्चिमी वायुलाई कमजोर बनाउन तथा वायुमण्डलमा आद्रता घटाउनमा बढ्दो पृथ्वीको तापक्रम नै भएको खडेरी विज्ञ वैज्ञानिक डा. हेमु काफ्ले बताउँछिन् ।
“पश्चिमी वायु नेपाल आइपुग्दासम्म पनि यहाँको तापक्रमका कारण कमजोर भएको देखिन्छ,” डा. काफ्ले भन्छिन् ।

उनका अनुसार बढ्दो सहरीकरण, खुम्चिँदा पानीका स्रोतहरू र मासिँदो वनजंगलले ’ग्लोबल वार्मिङ’लाई बढावा दिएको छ ।

सन् २०२४ अझै तातो वर्ष हुन सक्ने, महामारीजन्य रोगको जोखिम
सन् २०२४ ले तापक्रमका हिसाबले २०२३ को रेकर्ड तोड्ने विज्ञहरूको आकलन छ । जलवायु विज्ञ ढकाल भन्छन्, “आगामी वर्ष झन् तातो वर्ष बन्न सक्छ । हिउँदे वर्षा नहुनु, पृथ्वीको तापक्रम निरन्तर बढ्नु, प्राकृतिक हिसाबले पनि सामुन्द्रीक प्रणालीहरू परिवर्तन भइरहनु यसको आधार हो ।“
लामो समयसम्म पानी नपर्दा निम्तिने खडेरीको असर मौसमी परिवर्तन हुँदै जनस्वास्थ्यदेखि सामाजिक र आर्थिक पाटोसम्म परेको छ । लामो समय पानी नपर्दा हुने वायु प्रदूषणको असरस्वरूप स्वास्थ्यमा जटिलताहरू देखिन थालिसकेका छन् ।
वायुमण्डलमा कम आद्रता भएकै कारण नाक, कान, घाँटी, सुख्खा हुने श्वासप्रश्वासजन्य रोगहरूको जोखिम पनि बढेको छ । समयमा वर्षा नहुनु र अधिक वायु वायु प्रदूषणको असरले महामारीजन्य रोग निम्त्याउनसक्ने वातावरण विज्ञ राजु पण्डित क्षेत्री बताउँछन् ।

यस्तै, समयमा वर्षा नहुनु र एकैपटक अति धेरै वर्षा हुनुले प्राकृतिक विपद्को जोखिम पनि त्यतिकै बढाएको उनको बुझाइ छ ।
“सरकार अहिले डढेलोमा मात्रै केन्द्रित देखिन्छ । तर, यसैको असरस्वरूप निम्तिन सक्ने विपद्का घटनाबारे अहिले नै पूर्वतयारी गर्न आवश्यक छ,” क्षेत्री भन्छन् ।
त्यसका निम्ति स्थानीयदेखि केन्द्र सरकार र सबै निकायको समन्वयकारी भूमिका हुने उनको बुझाइ छ ।