पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

चीनले तयार गर्यो चन्द्रमाको विस्तृत नक्सा

२०८१ वैशाख २१, शुक्रवार २०:४५ बजे

एजेन्सी : चीनले चन्द्रमाको सबैभन्दा विस्तृत नक्सा तयार पारेको छ । यो भौगोलिक नक्सा हो, जसमा चन्द्रमाको सतहमा रहेका सबै चिजलाई निकै सूक्ष्म तरिकाले देखाइएको छ ।
यो नक्सामा चन्द्रमाको सतहमा उल्कापिण्डहरु ठोक्किएर बनेका खाडल अर्थात् क्रेटरहरु पनि देख्न सकिन्छ ।
चाइनिज एकेडेमी अफ साइन्सेसको इन्स्टिच्यूट अफ जियोकेमिस्ट्रीका वरिष्ठ शोधकर्ता लियु जियानझांगका अनुसार यो नक्सामा देखिने चन्द्रमाको सतहको विस्तृत चित्र तथा क्रेटरहरुले ध्यानाकृष्ट गर्दछन् । ती स–साना खाडलहरु इम्प्याक्ट क्रेटर हुन् जो उल्कापिण्डसँग ठोक्किएका कारण चन्द्रमामा बनेका हुन् र बनिरहेका छन् ।
लियुका अनुसार नक्सामा चन्द्रमाका सबै क्रेटरहरु समावेश गरिएको छ । त्यसमा सबैभन्दा ठूलो इम्प्याक्ट क्रेटर त पूरा बेसिन छ । जसलाई इम्प्याक्ट बेसिन भनिन्छ । यसको व्यास २ सय किलोमिटर छ ।
हरेक खाडललाई त्यसको उमेरको हिसाबले फरक फरक रंगमा बाँडिएको छ । यसमा बैजनी रंगवाला खाडल सबैभन्दा पुरानो इम्प्याक्ट क्रेटर हो ।
चीनका वैज्ञानिक तथा स्याटेलाइट तस्वीर बनाउने नक्साविदहरुले सन् २०१२ देखि नै चन्द्रमाको नक्सा तयार पार्ने काम सुरु गरेका थिए ।
चीनको चांगी १ तथा चांगी २ मार्फत् धेरै तस्वीर प्राप्त भएका थिए । त्यसका अलावा अर्बिटरले पनि लगातार चन्द्रमाको तस्वीर लिइरहन्छ । सन् २०१३ तथा २०१९ मा चांगी ३ र चांगी ४ प्रक्षेपण गरिएको थियो ।
उल्लेखित चारवटै मिसनबाट चीनले चन्द्रमाका सबै कोणका तस्वीर प्राप्त गरेको छ । ती सबैलाई संयोजन गरेर चीनले चन्द्रमाको विशालकाय तथा सबैभन्दा विस्तृत नक्सा तयार गरेको हो ।
चांगी ५ ले त चन्द्रमाको नियर साइड अर्थात् हामीले पृथ्वीबाट देख्ने हिस्साको नमुना सन् २०२० मै संकलन गरेको थियो र उक्त नमूना पृथ्वीमा ल्याइसकिएको छ । चिनियाँ वैज्ञानिकहरुले सो नमूनाको अनुसन्धान गरिरहेका छन् ।

चीनले यसै वर्ष चांगी ६ नामक मिसन चन्द्रमामा पठाउने तयारी गरिरहेको छ । त्यो पनि नमूना संकलन मिसन हुनेछ ।
चीनका प्रसिद्ध चन्द्रमा वैज्ञानिक ओयुयांग जियुआनका अनुसार चीनले तयार पारेको चन्द्र सतहको विस्तृत नक्साले चन्द्रमा सम्बन्धी सम्पूर्ण जानकारी प्रदान गर्दछ । मानव इतिहासमा चन्द्रमाको यतिधेरै विस्तृत नक्सा पहिलोपटक बनेको हो ।
सन् २०३० सम्ममा चन्द्रमामा अन्तर्राष्ट्रिय चन्द्रमा अनुसन्धान स्टेशन बनाउने चीनको योजना छ ।
सन् २०३० सम्ममै चन्द्रमामा आफ्ना अन्तरिक्षयात्री उतार्ने लक्ष्य पनि चीनले राखेको छ ।
अहिले चन्द्रमामा सबैभन्दा पहिले कसले मानिसलाई उतार्ने भन्नेमा होडबाजी भैरहेको छ र यो दौडमा चीन र अमेरिका सबैभन्दा अगाडि छन् ।