पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

बिद्युत प्राधिकरण, वायुसेवा निगम र आयल निगम नाफामा छन्: प्रधानमन्त्री

२०८१ वैशाख २१, शुक्रवार १८:५० बजे

काठमाडौं- शुक्रवार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगम लगायतका सार्वजनिक संस्थाहरु नाफामा गएको बताएका छन्।

उनले नेपालमा पर्यटक आगमनको उल्लेख्य वृद्धि भएको बताए। उनले हालै सम्पन्न लगानी सम्मेलनमा उत्साहवर्द्धक रुपमा विदेशी लगानीकर्ताहरुको सहभागिताले फेरि नेपाललाई विकासको गति दिने आधार तय भएको उल्लेख गरे।

उनले आफूले नेतृत्व सम्हाल्दै गर्दा देशको आर्थिक स्थिति र अहिलेको देशको आर्थिक स्थितिमा धेरै सुधार भएको जिकिर गरे। उनले शोधनान्तर स्थिति, वैदेशिक मुद्राको सञ्चिति, विप्रेषण, आय, राजश्व संकलनमा सुधार जस्ता कारणले अर्थतन्त्रका सूचकहरु विस्तारै सकारात्मक दिशातिर अघि बढेको बताए।

उनले भने, ‘मैले नेतृत्व सम्हाल्दै गर्दा देशको आर्थिक स्थिति के थियो? तपाईं हामी कुन सन्त्रासमा गुज्रिएका थियौँ भन्नेकुरा हामी सबैलाई थाहा छ। तर अहिले क्रमशः सुधार आइसकेको छ। शोधनान्तर स्थिति, वैदेशिक मुद्राको सञ्चिति, विप्रेषण, आय, राजश्व संकलनमा सुधार जस्ता कारणले अर्थतन्त्रका सूचकहरु बिस्तारै सकारात्मक दिशातिर अघि छन्। वित्तीय नीति र मौद्रिक नीतिमा एकरुपता ल्याइ लगानीको वातावरण सिर्जना गरिएको छ। बैंकको ब्याजदर घटाइएको छ। लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको छ। सार्वजनिक संस्था र संस्थान व्यवस्थापना सुधार गरिँदै छ। नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगम लगायतका सार्वजनिक संस्थाहरु नाफामा गएका छन्।'

उनले वित्तीय नीति र मौद्रिक नीतिमा एकरुपता ल्याइ लगानीको वातावरण सिर्जना गरिएको, बैंकको ब्याजदर घटाइएको र लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको बताए। उनले सार्वजनिक संस्था र संस्थान व्यवस्थापना सुधार शुरु गरिएको बताए।