पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

‘प्रकृतिकाे संसदमा प्रतिनिधत्व' काे माग राख्दै लद्दाखका पर्यावरणविद् वाङचुङ २० दिन भोक हडतालमा

२०८० चैत्र १२, सोमवार १०:०२ बजे

नयाँदिल्ली- लद्दाखका सामाजिक कार्यकर्ता र पर्यावरणविद् सोनम वाङ्चुक मार्च ६ देखि लेहमा अनशनमा रहेका छन्। 

उनले छैठौं अनुसूची र संवैधानिक सुरक्षा अन्तर्गत केन्द्र शासित प्रदेश लद्दाखलाई राज्यको दर्जा दिन माग गरिरहेका छन्। आइतबार कारगिल लोकतान्त्रिक गठबन्धन (केडीए) ले पनि कारगिलमा विरोध प्रदर्शन गर्दै अनशन सुरु गरेको थियो।

लद्दाखको एपेक्स बडी लेह (एबीएल) र कारगिल लोकतान्त्रिक गठबन्धनबीच दिल्लीमा भएको केन्द्रीय गृह मन्त्रालयसँगको वार्ता असफल भए पछि सोनम वाङ्चोकले अनशन सुरु गरेका हुन । उनले आफ्नो अनशनलाई ‘क्लाइमेट फास्ट’को नाम दिएका छन् ।

आइतबार पनि केडीएका सदस्य, पार्षदहरू, धार्मिक नेताहरू, युवाहरू, राजनीतिज्ञहरू र सामाजिक कार्यकर्ताहरू कारगिलको हुसैनी पार्कमा पुगेर अनशनमा बसेका थिए। हुसेनी पार्कमा करिब सय जनाले सामुहिक अनशन सुरु गरेका छन् ।

सोनम वाङचुकले आफ्नो एक्स ह्यान्डलबाट भिडियोहरू पोस्ट गरेर अनशनको बारेमा नियमित रूपमा अपडेट दिइरहेका छन्। उनले आफ्नो एक्समा पोस्ट गरेका थिए,  ‘आज (आइतबार) ५ हजार मानिस मसँगै उपवास बसेका छन् । बिहानको तापक्रम माइनस चार डिग्री सेल्सियस छ। हाम्रा संसद र नीति निर्माणमा प्रकृतिले कुनै गम्भीर स्थान नपाएको हुनाले म यहाँ एउटा अनौठो विचार राख्दैछु । प्रकृतिलाई भोट दिने अधिकार छ।’

उनले भिडियोमा प्रष्ट पारेका छन् कि प्रकृतिका प्रतिनिधि पनि अब भारतको संसदमा पनि हुनुपर्छ ।

सोनम वाङचुकले पोस्टमा लेखेका छन्,  ‘यो प्रकृतिको प्रतिनिधि भन्ने अनौठो लाग्न सक्छ, जसरी १०० वर्षअघि महिला वा अश्वेतलाई मतदानको अधिकार दिन अकल्पनीय थियो। कुन देशले पहिले सुरु गर्न सक्छ भन्ने प्रश्न हो ? के त्यो भारत हुन सक्दैन ?’

पीडीपी प्रमुख महबूबा मुफ्तीले लद्दाखका जनताको मागको समर्थनमा यस विषयमा प्रतिक्रिया दिएका छन् । जम्मु कश्मीरका पूर्व मुख्यमन्त्री महबुबा मुफ्तीले आइतवार ट्वीटरमा लेखेकी छिन्, ‘अब जब भाजपा र पुँजीपतिहरू बीचको सम्बन्ध पर्दाफास भएको छ, यसले भारत सरकारले लद्दाखिहरूको जायज मागलाई किन बेवास्ता गरिरहेको छ भन्ने सही स्पष्टीकरण दिनुपर्छ ।’ 

उनले अनसनरत सोनम वाङ्चुकका विचलित दृश्यहरूले पनि अलिकति पनि सहानुभूति वा चिन्ता उत्पन्न नगरेको पनि आरोप लगाएका छन्।

इन्डियन एक्सप्रेस समाचारको लिङ्क साझा गर्दै पीडीपी प्रमुखले पोस्टमा लेखेका छन्, ‘अहिले जम्मू–कश्मीरको लिथियम भण्डार पनि लुट्दै छन र शंकास्पद कम्पनीहरूलाई उपहार दिइदैँछ , जसले पछि यो अवैध आम्दानीलाई प्रयोग गर्नेछ।’ 

उनका अनुसार सत्तारुढ दल भाजापालाई सो लिथियमको भण्डार  ‘पार्टी कोष’ बराबर हुन पुगेको छ ।