पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

‘हीरामण्डी’ आफ्नो कलाकारिता जीवनको दोस्रो जीवन : अभिनेत्री कोइराला

२०८१ वैशाख २५, मङ्गलवार ०८:२६ बजे

काठमाडौं : अभिनेत्री मनिषा कोइराला प्रायः सुटुक्क काठमाडौं आउँछिन् र मुम्बई जान्छिन् । उनको यो आउजाउबारे मिडियालाई त्यति थाहा हुँदैन । मिडियामा आउने धेरै बानी छैन ।
पछिल्लो समय उनको धेरै बसाइ काठमाडौंमा हुन थालेको छ । काम परेको बेला मुम्बई आउजाउ गर्छिन् । यद्यपि, उनको पछिल्लो काठमाडौं आगमन भने खास रह्यो । आइतबार राति काठमाडौं विमानस्थलमा उत्रिंदा उनलाई फिल्ममेकर र मिडियाले स्वागत गरे ।
नेपाल आउँदा उनी खुसी पनि थिइन् । सञ्जयलीला भन्साली निर्देशित नेटफ्लिक्स वेब सिरिज ‘हीरामण्डी’ रिलिज भएसँगै यसले प्राप्त गरेको चर्चा र प्रसिद्धिको छेकोमा उनी घरमा फर्किएकी हुन् ।
विमानस्थलमा उनले मिडियासँग संक्षिप्त भलाकुसारी गरिन् । उनले ‘हीरामण्डी’लाई आफ्नो कलाकारिता जीवनको दोस्रो जीवन भएको बताइन् । केही बलिउड मिडियामा उनले भनेजस्तै ‘दोस्रो जीवन’बारे प्रश्न सोधिएको थियो ।
‘आधारभूतरुपमा दोस्रो जीवन क्यान्सर निको भइसकेपछि भनेको हो । हीरामण्डीले करिअरमा सेकेन्ड लाइफ दिन सक्छ भनेर भनेको हो । राम्रो निर्देशकसँग राम्रोसँग काम गर्न पाउँदाखेरि धेरै मान्छेले स्याबासी दिएपछि सेकेन्ड लाइफजस्तो भएको छ,’ उनले भनिन् ।
नेपाल आउनुअघि निर्देशक भन्सालीसँगको भेटमा केही कुरा भएको मनिषाले बताइन् । भन्सालीको भेटबारे उनले भनिन्, ‘मलाई तिमीले २८ वर्ष कुरायौ । अब अरु २८ वर्ष चाहिं नकुराउनु भनेको थिएँ । उहाँसँग काम गर्न पाउँदा खुसी लाग्छ । म गर्व गर्छु,’ उनले भनिन् ।
आफू धेरै योजना बनाउने मान्छे नभएको मनिषाले बताइन् । ‘म धेरै प्लान गर्दिनँ । राम्रो काम आयो भने गर्छु । नत्र म जंगलमा हिंडेर रमाउने मान्छे हो,’ उनले भनिन् । विवाहबारे पनि उनलाई संक्षिप्त प्रश्न गरिएको थियो, जवाफमा उनले आफूलाई सम्हाल्न सक्ने व्यक्तिको खाँचो रहेको बताइन् ।
‘हीरामण्डी’मा मनिषाले शीर्ष पात्र मल्लिका जानको भूमिका निर्वाह गरेकी छन् । यो वेब सिरिज गत बुधबार नेटफ्लिक्समा रिलिज भइसकेको छ ।