काठमाडौं- बाढी, पहिरो र डुवान लगायत प्राकृतिक विपदमा परेका १७ हजार १२० जनाको देशभरबाट सकुशल उद्दार गरिएको छ ।
विपदमा खोज उद्दारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्वयम्सेवकहरुबाट गरी बिहीबार बिहानसम्म १७ हजार भन्दा बढीको उद्दार गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले जानकारी दिए ।
उनले विपद्मा परी बेपत्ता परेका २२ जनाको खोजीकार्य जारी रहेको जानकारी दिदै विपद्का घटनामा पुरी मुलुकभर घाइते भएका १६९ जनाको विभिन्न अस्पतालहरुमा निःशुल्क उपचारको प्रवन्ध गरिएको बताए ।
'घाइते मध्ये धेरैको स्वास्थ्य अवस्था ठिक भएर घर फर्किसक्नु पनि भएको छ ।' प्रवक्ता तिवारीले भने, 'विपद्का बेला अतिप्रभावित क्षेत्रमा सुरक्षाकर्मीद्धारा घटनास्थलमै स्वास्थ्य शिविर र तत्कालको राहत समेत वितरण गरिएको थियो ।”
गृह मन्त्रालयका अनुसार हालसम्म काठमाण्डौं उपत्यकाबाट २ हजार १५८ जना, कोशी प्रदेशबाट ९० जना, मधेश प्रदेशबाट ३५ जना, सबैभन्दा बढी बाग्मती प्रदेशबाट १३ हजार ६४० जनाको उद्दार गरिएको छ ।
प्रभावित जिल्लाबाट नेपाली सेनाले हेलिकप्टरबाट पनि बिरामी, घाइते, बालबालिका, जेष्ठ नागरिकहरुलाई प्राथमिकतामा राखेर यो अवधीमा उद्दार कार्य गरिरहेको र खोज तथा उद्दारको काम अन्तिम चरणमा पुग्नुका साथै बेपत्ताको खोजी तिव्र रुपमा भइरहेको जनाएको छ।