काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज (बुधबार) बिहानसम्म देशको पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ । साथै तराईका भू–भागमा हुस्सु तथा कुहिरो लागेको छ ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो कोशी, बागमती ,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
साथै बुधबार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बुधबार राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।