जलेश्वर सर्राफ
वीरगंज- घरेलु हिंसा र लागूऔषध दुव्र्यसनजस्ता बढ्दो सामाजिक समस्याहरूविरुद्ध सचेतना फैलाउने उद्देश्यले नेपाल मुस्लिम पत्रकार संघद्धारा वीरगंज महानगरपालिका वडा नं.१ ३ मुरलीमा सचेतना मूलक कार्यक्रम आयोजना गरिएको छ।
उक्त कार्यक्रम जिल्ला प्रहरी कार्यालय,पर्साको समन्वयमा आयोजना गरिएको थियो, जसले स्थानीय समुदायलाई यी समस्याहरूको नकारात्मक प्रभावबारे जानकारी गराउँदै तिनको समाधानका लागि आवश्यक कदम चाल्न प्रोत्साहित गर्यो।
कार्यक्रममा स्थानीय बासिन्दाहरूलाई घरेलु हिंसा र लागूऔषध दुव्र्यसनको बारेमा सचेत गराउँदै, परिवारमा यसले पुर्याउने असर र तिनको रोकथामको महत्त्वलाई उजागर गरियो । कार्यक्रमका वक्ताहरूले घरेलु हिंसा र लागूऔषध दुव्र्यसनको घटनाहरू तुरुन्तै रिपोर्ट गर्न, पीडितहरूलाई आवश्यक सहयोग उपलब्ध गराउन, र समुदायलाई स्वस्थ र हिंसारहित बनाउन जोड दिए।
कार्यक्रममा प्रहरी प्रतिनिधिहरूले कानूनी संरचनाहरूको बारेमा जानकारी दिंदै, घरेलु हिंसा वा लागूऔषध दुव्र्यसनका पीडितहरूका लागि सहयोग प्राप्त गर्न सहज हुने कुरा व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथी बी.म.न.पा वडा नं.१३ का वडा अध्यक्ष हिरा गिरी रहेका थिए।
साथै, श्रीपुर वडा प्रहरी कार्यालयका वरिष्ठ सई गोरख साहि, जिल्ला प्रहरी कार्यालय, पर्सा महिला सेलका वरिष्ठ सई स्वप्नील देवकोटा, असई नन्द कला, नेपाल मुस्लिम पत्रकार संघका अध्यक्ष मन्सुर मियाँ लगायत सदस्य र स्थानीयहरुको विशेष उपस्थिती रहेको मुस्लिम पत्रकार संघ का अध्यक्ष मन्सुर मियाले जानकारी दिए ।
कार्यक्रमको अन्त्यमा, सबै सहभागीहरूलाई आफ्नो समुदायमा सतर्क रहन र घरेलु हिंसा तथा लागूऔषध दुव्र्यसनको रोकथाममा सक्रिय भूमिका निर्वाह गर्न अध्यक्ष मन्सुर मियाँले आग्रह गर्दै आशा र एकताको सन्देश दिएका थिए।