काठमाडौं : राष्ट्रियसभा सदस्य निर्वाचनको उमेदवारी मनोनयनको मिति नजिकिँदै जाँदा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सहकार्यका निम्ति रणनीतिक योजना बुन्न खोज्दै छ । एमाले सत्ता गठबन्धन भत्काउने या भत्काउन सक्ने उमेदवारको खोजीमा लागेको छ ।
सत्ता गठबन्धन कायम रहे आउँदो फागुन २० गतेदेखि रिक्त हुन लागेका पद गुमाउने निश्चितजस्तै भएपछि एमालेले सिट हासिल गर्ने योजना गरेको हो । त्यसो भएमा ५९ सदस्यीय राष्ट्रियसभामा एमाले आठ सिटमा खुम्चने सम्भावना छ ।
एमालेले राष्ट्रियसभामा पहिलो दल नेपाली कांग्रेससँगै साझेदारी चाहेको छ । कांग्रेससँग राष्ट्रियसभासँगै सत्तासाझेदारीकै प्रस्ताव एमालेले राखिसकेको छ ।
“कांग्रेसले गठबन्धन नतोडेसम्म राष्ट्रियसभा चुनावमा तात्त्विक फरक पर्ने देखिँदैन । सत्तासहयात्राकै लागि कांग्रेससँग पटक–पटक भनिरहेका छौँ, गठबन्धन तोड्न तयार देखिएको छैन,” एमालेका एक पदाधिकारी भन्छन् ।
स्रोतका अनुसार, एमालेले कांग्रेसलाई रिक्त हुन लागेका २० मध्ये १३ सिट आफैँ राख्न प्रस्ताव गरेको छ । उसले एक मनोनीतसहितका २० मध्ये सात सिटमा एमालेको उमेदवारी रहने गरी प्रस्ताव पठाएको थियो । तर, प्रस्तावमा कांग्रेस सभाापति शेरबहादुर देउवा सहमत देखिएका छैनन् ।
“तपाईंहरू १३ सिट लिनुस् भनेर देउवाजीलाई प्रस्ताव गरेको हो, तर सकारात्मक जवाफ आएको छैन । त्यस्तो वातावरण बन्ने अवस्था पनि देखिएको छैन,” स्रोतले भन्यो ।
राष्ट्रियसभामा फागुन २० देखि २० जनाको ६ वर्षे कार्यकाल सकिँदै छ । एमालेबाट राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, भैरवसुन्दर श्रेष्ठ, नरपति लुवार, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा, इन्दु कडरिया र रामचन्द्र राईको पदावधि सकिँदै छ ।
राष्ट्रपतिबाट मनोनीत एमालेकै विमला राई पौड्यालको पदावधि पनि सकिनेछ । उक्त पदमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गरिनेछ । बाँकी १९ पदमा माघ ११ गते निर्वाचन हुँदै छ । निर्वाचनका निम्ति पुस २३ गते उमेदवारी दर्ताको कार्यतालिका छ ।