पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

आईजिपीको जिभ्रो थुत्नुपर्ने अभिव्यक्ति दिएका मन्त्री गुरुङलाई ओलीले सचेत गराए

२०८१ भाद्र १७, सोमवार १८:१० बजे

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई भविष्यमा जथाभावी नबोल्न प्रधानमन्त्री केपी शर्मा ओलीले सचेत गराएका छन् ।

नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी समायोजनबारे दिएको अभिव्यक्तिलाई लिएर उनको जिब्रो थुत्नुपर्ने भनी अभिव्यक्ति दिएका मन्त्री गुरुङलाई ओलीले सचेत गराएका हुन्।

संघीय प्रहरी ऐन लागू गर्दिनँ भनेर प्रहरी प्रमुखले भनेको भन्दै उनको जिब्रो थुत्नुपर्ने गुरुङको भनाई थियो। 

राष्ट्रिय समाचार समितिद्वारा २४ घण्टा समाचार सेवा आरम्भका अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्त्री गुरुङले आफूलाई त्यस्तो शब्द नबोल्न प्रधानमन्त्री ओलीले सचेत गराएको र आफू पनि सचेत भएको जानकारी दिए । सोमबार बिहान ११ बजे राखिएको कार्यक्रममा करिब दुई घण्टा ढिलो गरी १ बजे आइपुगेका थिए । उनले प्रधानमन्त्रीसँगको भेटका कारण ढिलो आएको स्पष्टीकरण दिए ।

कार्यक्रममा बोल्दै गुरुङले ओलीसँग विविध विषयमा कुरा हुने क्रममा अन्त्यमा जिब्रो थुत्नुपर्ने भनी दिएको अभिव्यक्तिबारे कुरा भएको बताए । ‘उहाँले त्यस शब्द कुन सन्दर्भमा भन्नुभयो भनेर सोध्नुभयो, मैले त्यसबारे बताए । अनि तपाईँले भनेको त ठिकै हो । तर तपाईँ जिम्मेवार र सरकारको प्रवक्ता समेत रहेकाले बोल्दा अबदेखि त्यस्ता शब्द नबोल्नु होला र लामो पनि नबोल्नु होला भनेर सचेत गराउनुभयो । मैले सचेत भए भनेको छु’ गुरुङले भने ।

गुरुङले शनिवार पोखरामा आयोजित पत्रकार भेटमा प्रहरी महानिरीक्षकले प्रहरी समायोजनमा असहयोग गरेको आरोप लगाएका थिए । उनले वर्तमान प्रहरी महानिरीक्षकले प्रहरी समायोजनसम्बन्धी कानुन आए मान्दिनँ भनेको आफैँले कतै सुनेको भन्दै मन्त्री गुरुङले आक्रोश पोखेका थिए। गुरुङले सोमबार पनि निजामती ऐनको कर्मचारीबाट र प्रहरी ऐनको प्रहरीबाट विरोध भइरहनु जायज नभएको तर्क गरे ।

‘अहिले प्रहरीको आइजिपीले के भन्नु भो , म यो कानुन लागू नै गर्दिनँ भन्नुहुन्छ । त्यस्तो बोल्न पाउने कि नपाउने  रु त्यसको जिब्रो थुत्नुपर्थ्यो, मैले भन्दाखेरि । सरकारको नीतिको, व्यवस्थाको विरुद्धमा एउटा संस्थाको प्रमुखले बोल्न पाउँदैन नि । प्रहरी ऐन ल्याउँदै ल्याउँदिन भन्ने टाइपको बोल्यो रे भन्ने सुनेको मैले । संघीय प्रहरी ऐन संघीय सापेक्ष कानुनअनुसार ल्याउनुपर्छ । हामी त्यो प्रक्रिया अगाडि बढाउँछौँ,’ गुरुङले भनेका थिए ।