पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

राष्ट्रिय सभा निर्वाचनः आज उम्मेदवारी दर्ता हुँदै

२०८० पौष २३, सोमवार १०:०४ बजे

काठमाडौं : राष्ट्रिय सभा निर्वाचनअन्तर्गत आज (सोमबार) उम्मेदवारहरुले मनोनयन दर्ता गर्दैछन् । निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मनोनयन पत्र दर्ताका लागि समय निर्धारण गरेको छ ।
आयोगले सोमबार नै मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्नेछ । उम्मेदवारविरुद्ध उजुरी दिने समय भने मंगलबारलाई निर्धारण गरिएको छ ।
संघीय संसद्को माथिल्लो सदन (राष्ट्रिय सभा)का १ तिहाई (२० जना) सदस्य (सांसद)को पदावधिक आगामी फागुन २० गतेदेखि सकिँदैछ ।
फागुन २० गते कार्यकाल सकिनेमा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टीका १, स्वतन्त्र १ र राष्ट्रपतिद्वारा मनोनित १ जना छन् ।
पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै निर्वाचन हुनुपर्ने कानुनी व्यवस्थाअनुसार माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । राष्ट्रपतिबाट मनोनित बाहेक १९ जना सदस्य निर्वाचित गर्न माघ ११ गते निर्वाचन हुन लागेको हो । यसपटक राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका दलहरुले साझा उम्मेदवार उठाउने भएका छन् । नेकपा एमाले भने एक्लै चुनाव लड्नेछ ।
सत्तारुढ गठबन्धनमा सिटहरुको बाँडफाँट समेत भइसकेको छ । गठबन्धनमा नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टीले एउटा सिटमा उम्मेदवार उठाउने समझदारी बनेको छ । गठबन्धनको दल नेकपा माओवादी केन्द्रले ६ जना उम्मेदवारको टुंगो लगाइसकेको छ । कांग्रेसले भने सोमबारै उम्मेदवार टुंग्याउने बताइएको छ ।
यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १९ वटै सिटका लागि उम्मेदवारको टुंगो लगाएको छ ।