पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

एन्फाले पहिरोमा पुरिएर मृत्यु भएका ६ खेलाडीका परिवारलाई जनही आठ लाख रुपैयाँ दिने

२०८१ आश्विन २०, आइतवार २२:१४ बजे

काठमाडौं- आइतवार बसेको एन्फाको आपतकालीन बैठकले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरीस्थित बात्सल्यदेवी एकेडेमीमा फुटबल सिकिरहेका ६ जना खेलाडीहरू गत असोज १२ मा पहिरोले पुरिएर मृत्यु भएपछी उनिहरूको परिवारलाई जनही आठ लाख रुपैयाँ दिने निर्णय गरेको छ।

लगातारको वर्षापछि आएको पहिरोमा परी बात्सल्यदेवी एकेडेमीमा अध्ययनरत आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आचार्य, दिवश बानियाँ, अनुपम घलान र साइमन योञ्जनको परिवारलाई जनही आठ लाख रुपैयाँ दिने निर्णय गरेको हो। बैठकले प्रत्येक बालकको नाममा परिवारले चाहेको ठाउँ र क्षेत्रमा दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिने र एन्फाले सञ्चालन गर्ने विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगितालाई ६ खेलाडीको स्मृतिमा सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

बैठकले असोज २१ गते सातदोबाटोस्थित एन्फा कम्प्लेक्स, सम्पूर्ण जिल्ला, प्रदेश र क्लबहरुमा साँझ ५ बजे दीप प्रज्ज्वलनसहित श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको एन्फा प्रवक्ता सुरेश साहद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 

बैठकले सो घटनाको छानबिन गर्न एन्फा केन्द्रीय सदस्य विकासनारायण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। समितिमा केन्द्रीय सदस्य टीकाराम लामा र सहायक महासचिव दामोदर भट्टराई सदस्य छन्। उनीहरुलाई एक महिनाभित्र प्रतिवेदन बुझाउने समयसीमा तोकिएको छ।