जलेश्वर सर्राफ
वीरगंज- वीरगंज महानगरपालिका वडा न-११ श्रीपुर घर भई ललितपुरको विशाल चौकमा एस.प्रिया कलेक्सन नामक रेडिमेड कपडाको पसल सञ्चालन गर्ने पुर्व नेपालीसेना मदन सिंहकी श्रीमती किरण सिंह(सोनी) भन्ने महिलाले विभिन्न व्यक्तिहरुको रकम ठगेर फरार भएकी छिन्।
किरण सिंह भन्ने सोनी सिंह माथी ललितपुर महानगरिय प्रहरी परिसरमा उनको नाममा ठगी गरेको भनि विभिन्न व्यक्तिहरुले निवेदन तथा जाहेरी समेत दर्ता गराएका छन्।
हाल उनी विशाल चौकमा रहेको पसल बन्दगरी फरार रहेको पिडित विजय लक्ष्मी वैध बताउछिन्।
काठमाडौंबाट ठगेर फरार रहेकै अवस्थामा नितनपुर स्थित रहेको भगवती रोलिङ्ग मिल्सको खरिद बिक्री गर्ने बहानामा जाली कागजपत्र तयार गरी उक्त फ्याक्ट्रीका जि.एम दिपक प्रियदर्सीको मिलेमतोमा फ्याक्ट्री भित्रका कबाड बिक्री गर्ने भन्दै केही वीरगंजका कबाडीको कामगर्ने व्यापारीहरुको पैसा समेत ठगी गरेर उनी फरार भएकी छिन्।
उनले भगवती रोलिङ्ग मिल्सका प्रथम पक्ष महेन्द्र साह र दोस्रो पक्ष किरण सिंहको हस्ताक्षर सहितको कागजपत्र तयार गरी उक्त फ्याक्ट्री खरिद गरेको प्रमाण देखाउँदै ठगी धन्दा गर्ने गरेको पाइएको छ।
यद्यपि भगवती रोलिङ्गस मिल ५५ करोडमा खरिद गर्ने किरण सिंहले उक्त ५५ करोड रकम मध्ये ४४ करोड ५० लाख भुक्तानी समेत भईसकेको प्राप्त कागजातबाट देखिन आउँछ।
भगवती रोलिङ मिल्सको जग्गा साविक छातापिपरा वडा न-२ हाल जितपुर सिमरा उपमहानगर पालिका वडा नं-९ स्थित कि.न.१९६ को जग्गाको क्षेत्रफल-००-११-१८ त्यसैगरी कि.न.९५को क्षेत्रफल ००-१७-०५ र कि.न. ९४ को क्षेत्रफल ००-१७-०० रहेको र कि.न.९३को क्षेत्रफल ००-१८-०० रहेको छ। उक्त कागजातमा जग्गा खरिदगर्ने खरिद कर्ताको नाम किरण सिंह रहेको छ।
किरण सिंहले ५५ करोड काहाँबाट लिएर आईन् ? त्योभने गम्भीर प्रश्न रहेको छ। एकातिर यति धेरै रकमको श्रोत समेत खुलाउनु पर्ने कानुनी प्रावधान रहदा समेत त्यसको कुनैपनी श्रोत उनले खुलाएकी छैनन् भने अर्को तिर व्यक्ति र व्यापारीहरुको ठूलो रकम ठगीमा उनि हालसम्म फरार छिन्।
त्यस्तै ४४ करोड माथिको भुक्तानी भगवती रोलिङ्ग मिल्सले कुन खातामा बुझ्यो र बुझाउनेले कस्तो खालको श्रोत बैंकलाई बुझायो त्योभने खोजीको बिषय बनेको छ। भगवती रोलिङ मिल्सको ग्लोबल आई.एम.ई बैंकको खाता न:- १७६०१०१०००१३९१ को खातामा किरण सिंहले ०४-०५-२०२४ मा एक करोड ५० लाख डिपोजिट गरेको भौचर भने पाठशाला न्युजलाई प्राप्त भएको छ।
भगवती रोलिङ्ग मिल्स ५५ करोडमा खरिद गर्ने व्यक्ति चेक अनादर तथा बैंकिङ्ग कसुर मुद्दामा उनी फरार हुनुले उक्त खरिद बिक्रि नै रहस्यमय र कारोवार शंकास्पद देखिन्छ । यदि उनले जाली कागजातहरु बनाएर ठगी गर्ने उदेश्यले खरिद बिक्रि गरेको देखिए भगवती रोलिङ मिल्सका जि.एम.दिपक प्रियदर्सी र महेन्द्र साहको यसमा कस्तो खालको संलग्नता र भुमिका छ त्योभने अनुसन्धानको बिषय बनेको छ।
स्मरण रहोस् ललितपुर महानगरपालिका वडा न:-२६ ढोलाहिटी बस्ने विजय लक्ष्मी बैधको समेत पैसा ठगेर फरार भएकी किरण सिंह भन्ने सोनी सिंह अहिले वीरगंज बाराको जीतपुर तथा सिमरामा लुकीछिपी बस्ने गरेको खबर प्राप्त भएको छ।
पिडित विजयलक्ष्मी बैधले जिल्ला प्रहरी कार्यालय ललितपुरमा २०८१ साल ज्येष्ठ ३ गतेको दिन च.न-१७८२८ मा किरण सिंह विरुद्ध बैङ्किङ कसुर मुद्दा दर्ता गराएकी थिईन्। त्यसैगरी ललितपुर जिल्ला अदालतबाट सुशील बम र काठमाडौं जिल्ला अदालत बबरमहलबाट निरन्जन थापा समेतको चेक अनादर मुद्दामा किरण सिंहको नाममा पक्राउ पुर्जी जारी भएको पाठशाला न्युजलाई प्राप्त कागजात अनुसार देखिन्छ।
हाल सिंहलाई पक्राउ गर्नको निमित्त प्रहरीले उनको श्रीपुर स्थित घरमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी टोलीहरु खटाउदा उनी झ्यालबाट हाम फालेर भाग्न सफल भएकी थिईन्। यद्यपि जिल्ला प्रहरी कार्यालय पर्साका टोलीले तदारुकताका साथ सिंहको खोजतलास जारी राखेको प्रहरी प्रवक्ता तथा जिल्ला प्रहरी पर्साका डि.एस.पी दिपक भारतीले जनाएका छन्।