पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

समुह बिजेता बन्दै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा

२०८१ कार्तिक ८, बिहीवार २०:३३ बजे

काठमाडौं- साफ च्याम्पियनसिपकाे राजधानीमा जारी प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा श्रीलंकाविरुद्ध ६-० गोल अन्तरको जीत निकाल्दै नेपाल समूह बीको विजेताको हैसियतामा सेमिफाइनल पुगेको छ।

नेपालका लागि रेखा पौडेलले दुई गोल गरिन् भने सविता रानामगर, सावित्रा भण्डारी, अमिषा कार्की र रश्मि घिसिङले समान एक–एक गोल गरेका थिए। आजै भएको पहिलो खेलमा भुटानले माल्दिभ्स १३-० को जीत दर्ता गरेकाले समूह विजेता बन्न नेपाललाई ६-० को जीत आवश्यकता थियो। 

नेपालले खेलको सुरुआती मिनेटदेखि नै आक्रमक शैली अपनाउँदै श्रीलंकालाई दबाबमा राख्यो। जारी साफमा पहिलो पटक मैदान उत्रिएकी सावित्रा भण्डारीको प्रदर्शन पनि उत्कृष्ट रह्यो। खेलको ८औं मिनेटमै सविता रानामगरले सवित्रा भण्डारीको पासलाई सदुपयोग गर्दै वान-टचमा नेपाललाई अग्रता दिलाइन् ।

१२ औं मिनेटमा सवित्रा भण्डारीले २५ यार्डको दूरीबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत हुँदा नेपालको अग्रता दोब्बर बन्यो ।

लगत्तै रेखा पौडेलले अमिषा कार्कीको क्रसलाइृ भली प्रहार गरेर जाली चुमाएपछि नेपाल ३-० ले अघि बढेको थियो । २३औं मिनेटमा रेखाले नै गरेको अर्को गोलले भने मान्यता पाएन ।

तर रेखाले २७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन्। सावित्राको क्रस बललाई रेखाले गोल गरेपछि नेपाल ४-० काे अग्रतामा पुग्यो।  

पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा भने २ गोल मात्रै थप्न सक्यो ।

दोस्रो हाफ सुरु भएको केही मिनेटमै अमिषा कार्कीले नेपालका लागि पाँचौं गोल गरिन्। सविताले दिएको बललाई उनले हेडरमार्फत सही दिशामा पुर्‍याउँदै श्रीलंकाको गोलकिपरलाई कुनै मौका दिइनन्। 

नेपाललाई समूह विजेता बन्न अर्को १ गोलको आवश्यकता रहेको बेला इन्जुरी समयमा रश्मि घिसिङले अनिता केसीको कर्नर बललाई सदुपयोग गर्दै नेपालका लागि छैटौं गोल थपिन्। यही गोलले नपाल समूह ‘बी’ को विजेताको हैसियतामा सेमिफाइनलमा पुग्न सफल भयो ।

नेपालले अब सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता भारतसँग खेल्नेछ।