काठमाडौं : संघीय संसदका विभिन्न चार समितिका बैठक बिहीबार बस्दैछन् । प्रतिनिधिसभा अन्तरगत राज्यव्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो ३ बजे बोलाइएको छ ।
अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गर्ने कार्यसूची छ । प्रतिनिधि सभाकै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ । बैठक बिहान साढे ११ बजे बस्ने तय भएको छ ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा विधायन सम्बन्धी विधेयक, २०८० मा दफावार छलफल हुनेछ । बैठक बिहान साढे ११ बजे नै बस्ने गरी बोलाइएको छ ।
राष्ट्रिय सभाकै राष्ट्रिय सरोकार तथा समन्वय समितिको दिउँसो १ बजे बस्ने बैठकमा सोह्रौँ योजना तर्जुमा भईरहेको सन्दर्भमा योजनामा लैङ्गिक तथा दिगो विकास लक्ष्य मैत्री दृष्टिकोण बमोजिम निर्माण गर्न समावेश गर्नुपर्ने सुझाव लिनेगरी बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ ।