वीरगंज- वीरगंज महानगरपालिका वडा नं-२६ सुगौलीमा २६ नम्बर वडाकै वडा कार्यालय अगाडी रहेको एतिहासिक हाट बजार लाग्ने स्थल निर्माण प्रक्रियामा निर्माणकर्ताले गुणस्तरहिन काम गरि अनियमितता गरेको पाईएको छ।
जमिनको लेभल ग्रेडिङ र रोलिङ नै नगरि मुसलधारे वर्षामा धमाधम निर्माणकार्य गरेर गुणस्तरहिन निर्माण गरि ब्लक छापी बिल निकासा गर्ने हतारले सो कार्यमा संलग्न प्राविधिक, निर्माण व्यवसायी र वडाका जनप्रतिनिधि वडा अध्यक्ष शम्भु मिश्राको मिलेमतोमा अनियमितता भैरहेको स्पष्ट बुझिन्छ।
स्थानीयहरुको बिरोधको वावजुद पनि निर्माण कार्य नरोकी निर्माणकर्ताले वडा अध्यक्ष शम्भु मिश्राको आडमा आफ्नो मनोमानी ढंगले निर्माण कार्यलाई तिव्रता दिदैं हतारमै काम सम्पन्न गर्नखोजेका छन् ।
यस सम्बन्धमा पाठशाला न्युजले वडा अध्यक्ष शम्भु मिश्रालाई सम्पर्क गर्दा आफुले तत्कालै सो निर्माण कार्यलाई रोकेको जानकारी गराएका थिए ।
वडा अध्यक्ष मिश्राले आफुले यस सम्बन्धमा तत्कालै प्राविधिक पक्ष बुझेर गुणस्तरीय काम गराउने समेत बताएका थिए।
यद्यपि उक्त गुणस्तरहिन कामको नेतृत्व भने निज मिश्रले नै गर्दै आइरहेका छन् । स्थानीयहरुले बिरोध गर्दा निज वडा अध्यक्ष कै आडमा जबर्जस्ती ठेकेदारले निर्माण कार्य सम्पन्न गर्न बर्षा हुँदाहुँदै ब्लक छाप्ने कार्यलाई तिब्रता दिएका थिए ।
स्मरण रहोस् यी उनै शम्भु मिश्रा हुन् जो विगतमा मालपोत कार्यलय पर्सामा लेखापढीको काम गर्थे जुन बेला यिनका दाजु हरिनारायण मिश्रा मालपोत कार्यालय पर्साका प्रमुख थिए। त्यही क्रममा हरिनारायण मिश्रा लगायत तिनजनालाई अख्तियारले भ्रष्टाचार मुद्दामा अहिले ८ वर्ष कैद र २ करोड २५ लाख २३ हजार ९ सय ८१ रुपियाँ जरिवाना तथा करिब १ करोड २५लाख ११ हजार ९ सय नब्बे रुपियाँ बिगो समेत अशुल उपर गर्ने फैसला गरेको छ। हाल हरिनारायण मिश्रा फरार रहेका छन्।