पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

कोशी प्रदेशमा ‘पर्यटन वर्ष २०८२' को घोषणा

२०८१ आश्विन १२, शनिवार ०९:३५ बजे

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश समृद्धिको महत्वपूर्ण आधार पर्यटन र पूर्वाधार हुने बताएका छन् । पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा शुक्रबार आयोजित ‘पर्यटन वर्ष २०८२ घोषणासभा’ को उद्घाटन गदै उनले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको सीमासँग जोडिएका दुई ठूला देश भारत र चीनका पर्यटक नेपाल भित्र्याउन सके राष्ट्रिय पुँजीको निर्माण हुने उल्लेख गर्दै विसं २०८२ लाई प्रदेश सरकारले पर्यटन वर्षका रूपमा घोषणा गरेको जानकारी दिए।

उनले नेपालको कूल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको उल्लेखनीय योगदान रहेकाले सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए।

“सिङ्गो नेपालले पर्यटनमा प्रचुरसम्भावना बोकेको छ । कोशी प्रदेशमा त विश्वकै सर्वोच्च शिखर सगरमाथा जस्तै अन्य हिमाल, पहाड र तराईको सम्मिश्रण रहेको छ । यो प्रदेश धार्मिक, भौगौलिक, सांस्कृतिक र सम्पदाका हिसाबले पनि महत्वपूर्ण भएकाले सरकारले यसलाई अवसरको रूपमा लिएर काम गरिरहेको छ । यसमा निजी क्षेत्रको साथ र सहयोगको अपेक्षा छ”, मुख्यमन्त्री कार्कीले भने ।