एजेन्सी : हिमालयलाई पृथ्वीको तेश्रो ध्रुव भनिन्छ । हिमालयमा तिब्बतको पठार, हिन्दुकुश तथा तियानशान पर्वत श्रृंखला पर्दछन् । जलवायु परिवर्तन, बढ्दो तापमान तथा वर्षाको बदलिँदो ढाँचाका कारण यहीँ हिमालयमा पछिल्लो ३० वर्षमा १० हजार हिमनदीहरु पग्लिएका छन् ।
हिमनदीहरुको तीव्र हिमगलनका कारण हजारौँको संख्यामा हिमतालहरु निर्माण भएका छन् । यस्ता हिमतालहरु हिमालयको तल्लो तटीय क्षेत्रका लागि जोखिमपूर्ण छन् । दृश्यमा हिमतालहरु सुन्दर देखिन्छन् तर जब यी विस्फोट हुन्छन् तब यिनले भयानक विध्वंस सिर्जना गर्दछन् । हिमतालहरु विस्फोटन भएर समय समयमा ठूलो धनजनको क्षति पूराउने गरेका छन् र यो क्रम पछिल्लो समयमा बढ्दै गएको छ ।
चाइनिज एकेडेमी अफ साइन्सेसस्थित इन्स्टिच्यूट अफ तिब्बेतन प्लेटु रिसर्चका शोधकर्ता प्राध्यापक विकाई वांग सहितको टिमले हिमालयमा रहेका हिमतालहरुको अध्ययन गरेको छ ।
हलै नेचर कम्युनिकेशन्समा प्रकाशित उक्त शोध रिपोर्ट अनुसार नेपाल, भारत, पाकिस्तान तथा चीन लगायतका सबै देशहरुले यस्ता जोखिमपूर्ण तालहरुका विषयमा तत्काल कदम चाल्नु आवश्यक छ ।
हिमालयको कोखमा हुर्किरहेका यी हिमतालहरुको विध्वंसबाट बँच्नका लागि हिमालय क्षेत्रका सबै देशहरुले मिलेर काम गर्नु आवश्यक रहेको शोधकर्ताहरुको ठम्याइ छ । शोधकर्ताले सेन्टिनल टू ए तथा टू बीको डेटा संकलन गरेका छन् जुन सन् २०१८ देखि २०२२ सम्मको हो । उनले सबै हिमतालहरुको वर्गिकरण गरेका छन् ।
आकार, श्रोत तथा खतराको आधारमा हिमतालको वर्गिकरण गरी फरक फरक सूचिमा राखिएको छ ।
दुई दशकमा दोब्बर भयो हिमताल विस्फोटका घटना
अध्ययनबाट एउटा डरलाग्दो तथ्यको पनि खुलासा भएको छ । सन् १९८१ द्येखि १९९० को बीचमा हिमालयमा हिमताल विस्फोटका घटनामा १.५ प्रतिशत हुने गरेकोमा सन् २०११ द्येखि २०२० को अवधिमा बढेर २.७ प्रतिशत पुगेको छ । अर्थात् हरेक दशकमा हिमताल विस्फोटको दर दोब्बरले बढेको छ । यो हिमालय र त्यसको तल्लो इलाकामा बस्ने मानिसहरुका लागि खतरनाक संकेत हो ।
शोधकर्ताहरुले हिमालय क्षेत्रमा ५ हजार ५३५ वटा यस्ता हिमतालहरु प्हिचान गरेका छन् जो यस क्षेत्रका मुलुकहरुको लागि निकै नै खतरनाक सावित हुन सक्छन् । यी हिमतालहरु कुनैपनि समयमा विस्फोट हुनसक्छन् र त्यसबाट हिमताल विस्फोट सिर्जित बाढी अर्थात् (GLOF) को घटना हुनसक्छ । त्यसमध्ये १५०० वटा तालहरु निकै खतरनाक छन् र ती कुनैपनि बेला विस्फोट हुनसक्छन् र तल्लो तटीय इलाकामा ठूलो ध्वंस हुनसक्छ ।
शोधकर्ता प्राध्यापक वांगका अनुसार यी हिमतालहरु विस्फोट हुँदा कम्तिमा पनि ५५,८०५ वटा भवन, १०५ वटा विद्यमान वा निर्माणको योजना बनाइएका जलविद्युत परियोजना, १९४ वर्ग किलोमिटरको खेतियोग्य जमिन, ५० हजार ५ किलोमिटर सडक तथा ४०३८ वटा पुल ध्वंस हुने आंकलन छ । त्यसका अलावा यी घटनामा परेर कम्तिमा पनि २ लाख मानिसहरुको मृत्यु हुनसक्छ ।
कसरी हुन्छ हिमताल विस्फोट र बाढी ?
हिमताल विस्फोट र त्यसबाट उत्पन्न हुने बाढीको घटनालाई ग्लोफ अर्थात् ग्लेसियल लेक आउटबस्र्ट फ्लड भनिन्छ । हिमनदी पग्लिएर बनेका ती तालहरु हिमनदी फुट्दा पनि फुट्न सक्छन् ।
हिमस्खलन, पहिरो तथा बाढी, भूकम्प जस्ता प्राकृतिक आपदाहरुका कारण हिमतालको बाँध टुट्न गई हिमताल विस्फोट हुने गर्दछ । यसबाट हिमतालमा रहेको करोडौँ लिटर पानीसँगै ढुंगा, माटो तथा अन्य वस्तुहरु बग्दछन् र भयानक बाढीको रुप लिन्छ । हालै भारतको सिक्किममा हिमताल विस्फोटनबाट विनाशकारी बाढी आएको थियो ।
उत्तरी सिक्किमस्थित ५२०० मिटर उचाइँमा रहेको दक्षिण लोनाक नामक हिमताल आंशिक विस्फोट हुँदा आएको बाढीमा कम्तिमा ४२ जनाको मृत्यु र ७७ जना बेपत्ता भएका थिए । उक्त हिमताल अझैपनि विस्फोटको खतरामा रहेको बताइएको छ ।
सन् २०१५ देखि २०२० को बीचमा हिमालयमा १० हजार देखि ३० हजारसम्म हिमतालहरु द्येखिएका थिए । हिमतालहरुको उचाइँ तथा दुर्गमताका कारण सबैको विस्तृत अध्ययन निकै कठीन छ ।
साथै कुन हिमताल कहिले विस्फोट हुन्छ भनेर अड्कल काट्न वा जोखिम आंकलन गर्नपनि गाह्रो हुन्छ । भौगोलिक कठीनाईका कारण पनि वैज्ञानिकहरुले स्याटेलाइटको मद्दतले हिमतालहरुको अध्ययन गर्दै आएका छन् ।