काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनको नारायणगढबाट बुटवलसम्म पैदल यात्रा शुरु गर्दैछ । नारायणगढ–बुटवल सडकखण्ड विस्तारको कामलाई तीब्रता दिन सरकारको ध्यानाकर्षण गर्नेउद्देश्यले रास्वपाले आजदेखि दबाबमुलक पैदलयात्रा गर्न लागेको हो ।
‘रास्वपाको दबाब यात्रा’ नाम दिइएको पैदलयात्रा अहिले केही बेरमा चितवनको नारायणगढ पुल्चोकबाट शुुरु हुनेछ । ३ दिनसम्म चल्ने यात्राका क्रममा ११३ किलोमिटर दूरी पार गर्ने रास्वपाले जनाएको छ । सभापति रवि लामिछानेका अनुसार नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नतिमा भइरहेको ढिलाइ र यात्राका क्रममा नागरिकले खेप्नुपरेको सास्तीबारे नजिकबाट बुझेर सरकारलाई ध्यानाकर्षण गर्ने तयारी छ ।
यात्रामा सभापति लामिछानेसहितका नेता, कार्यकर्ता र सांसद सहभागी हुनेछन् । यात्राका क्रममा सडक छेउका बस्ती छिरेर स्थानीयवासीसँग अन्तरक्रिया पनि गरिने रास्वपाले जनाएको छ । यात्राको क्रममा स्वागत वा अन्य कार्यक्रम नराख्न सभापति लामिछानेले अनुरोध गरेका छन् । दबाब यात्रमा साथ दिन आउने कसैलाई पनि झन्डा, लोगो, टि–सर्टलगायत पार्टी सम्बद्ध कुनै पनि वस्तु प्रयोग नगर्न पनि उनले आग्रह गरेका छन् ।