गाजा- इजरायलले दक्षिणी गाजाको सुरक्षित क्षेत्र मानिएको अल-मवासीमा बमबारीमा कम्तिमा १९ व्यक्तिको मृत्यु र ६० जना घाइते भएका छन्। यो सङ्ख्यामा बृद्धि हुने सक्ने समेत अनुमान गरिएको छ।
अल जजिराको सनद एजेन्सीले गरेको अनुसन्धानमा इजरायलले आक्रमणमा अमेरिकी निर्मित एमके ८४ बम प्रयोग गरेको पत्ता लागेको छ । गाजाका अधिकारीहरूका अनुसार दुई हजार पाउन्डको यो हतियारले आक्रमणमा परेका पीडितहरूको शवलाई गलाएको बुझिएको छ।
यद्यपि युद्धको सबै अप्ठ्यारो परिस्थितिहरु छिचोल्दै गाजाका बालबालिकालाई पोलियो भाइरस विरुद्ध खोप लगाउने अभियान एन्क्लेभको उत्तरी भागहरूमा जारी छ। तर प्यालेस्टिनी शरणार्थीहरुका लागि संयुक्त राष्ट्रसंघका प्रमुख (UNRWA) का अनुसार इजरायली सैनिकहरूले संयुक्त राष्ट्र संघका स्वास्थ्यकर्मीहरूमाथि गोली हानेका छन् र उनीहरूका गाडीहरू माथि बुलडोजर चलाइएको छ ।
हालसम्म गाजामा इजरायलको युद्धमा कम्तिमा ४१ हजार २० जनाको मृत्यु भएको छ भने ९४ हजार ९२५ जना घाइते भएका छन् । इजरायलमा, अक्टोबर 7 मा हमास नेतृत्वको आक्रमणमा मारिनेहरूको संख्या कम्तिमा 1,139 छ, जबकि 200 भन्दा बढी मानिसहरूलाई बन्दी बनाइएको थियो।