पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

वीरगंज महानगर र मेयरको चरम लापरवाहीले थन्कियो करोडौंको स्वास्थ्य उपकरण

२०८१ भाद्र ३०, आइतवार ०९:२० बजे

जलेश्वर सर्राफ 

वीरगंज- वीरगंज महानगर र मेयर राजेशमान सिंहको चरम लापरबाहीले करोडौंको स्वास्थ्य उपकरणहरु थन्किएको छ।

तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप यादवको कार्यकालमा स्वास्थ्य मन्त्रालयले वीरगंज महानगरपालिकाका ३२ वटै वडाहरुका लागि पठाएको एक करोड २९ लाख ८६ हजार रुपैयाँ बराबरको स्वास्थ्य उपकरणहरु चार महिनादेखि महानगरमै थन्काएर राखिएको छ।

स्वास्थ्य सम्बन्धित यी उपकरणहरू समयमा वितरण नहुँदा सर्वसाधारणहरु महँगो शुल्क तिरेर उपचार गराउन बाध्य भएका छन् । तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले वीरगंजका स्वास्थ्य चौकीहरूमा अति आवश्यक स्वास्थ्य उपकरणहरू पठाएका थिए।

जसमा भिडियो एक्सरे मेसिन, गर्भवतीको बच्चाकाे धड्कन जाँच्ने मेसिन लगायतका सामग्रीहरू छन्। यी उपकरणहरू चार महिनादेखि महानगरपालिकाको स्टोरमै थन्किएको छ।

बर्थिङ सेन्टरका लागि पठाइएका उपकरणहरू नपुग्दा वीरगंज आउने गर्भवती महिलाहरूले भिडियो एक्सरे र अन्य जाँचका लागि महँगो शुल्क तिर्न बाध्य भएका छन् । यसमा मेयर राजेशमान सिंहकाे व्यवस्थापकीय कमजाेरी र स्वास्थ्य शाखाका अधिकारीहरूको लापरबाहीले सर्वसाधारणलाई समस्या परेको छ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा औजार उपकरण स्टोरले साउन ४ गते ९० लाख ३२ हजार रुपैयाँ बराबरको ८ किसिमका स्वास्थ्य उपकरण वीरगंज महानगरमा पठाएको थियो । यस्तै पथलैया स्टोरबाट ३९ लाख ५४ हजार रुपैयाँ बराबरका १७ प्रकारका उपकरण जेठ ९ गते पठाएको थियो ।

जसमा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा औजार उपकरण स्टोर मार्फत ३२ वटै वडाका स्वास्थ्य चौकीहरूका लागि डिजिटल फिटल डपलर, नेबुलाइजर, विपी सेट, माइक्रो स्कोप प्रिमोस्टार, पोर्टेबल यूएसजि मेसिन, डिलेभरी सेट, सक्सन मेशिन लगायतको मेसिन तथा उपकरणहरु रहेको थियो । 

त्यस्तै स्वास्थ्य सेवा विभाग पथलैया स्टोरबाट भिएलएस एसी कोल्डच्यान इकुप्मेन्ट, आइस प्याक डिप फ्रिजर विथ स्टेबलाइजर, मेडिकल स्ट्याण्ड, मेडिकल ट्रलि, डेलेभरी बेड, फोटो थेरेपी मेशिन, फ्रिज फ्रि भ्याक्सिन क्यारीर, अक्सिजन सिलिन्डर, निडल कटर, अटोडेभ, मस्क्युटो नेट लगायतको स्वास्थ्य सामाग्री पठाएको थियो।

पठाएको सामाग्री अझैसम्म वितरण नगर्दा सर्वसाधारणहरू महँगो शुल्क तिरेर उपचार गराउन बाध्य भएका छन्।यस्ता किसिमका लापरबाहीले सेवाग्राहीहरु मारमा मात्र परेका होईनन महँगो शुल्क तिरेर उपचार समेत गराउन बाध्य भएका छन। 

महानरपालिका वीरगंजका मेयर यी यस्तै कारणले दिनानुदिन असफल र थप आलोचित हुँदै आएका छन् ।