पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

धनराज गुरुङकी पूर्व पत्नी ज्योति गुरुङ र ज्योति बहादुर भण्डारी बिरुद्ध रेड कर्नर नोटिस जारी

२०८१ कार्तिक २४, शनिवार ०७:०० बजे

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्व पत्नी ज्योति गुरुङ र व्यावसायि ज्योति भण्डारी बिरुद्ध रेड कर्नर नोटिस जारी भएको छ ।

ललितपुरको महालक्ष्मी स्थानमा रहेको मितेरी सेभिङ एन्ड क्रेडिट कोअपरेटिभको रकम हिनामिनाको आरोप लागेका सहकारीका व्यवस्थापक गुरुङ र व्यवसायी भण्डारीविरुद्ध प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) मार्फत ‘रेड कर्नर नोटिस’ जारी गरेको हो।

सहकारीको रकम हिनामिनाबारे अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले यसबारे अनुसन्धान गरिरहेको छ । प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको पत्रचारपछि इन्टरपोल मुख्यालयले गुरुङ र भण्डारीविरुद्ध शुक्रबार ‘रेड कर्नर नोटिस’ जारी गरेको ब्युरोका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार रेड नोटिस जारी भएकी ज्योति गुरुङ अमेरिका र ज्योतिबहादुर भण्डारी कम्बोडिया र आसपासका मुलुकमा लुकेर बसेको हुन सक्ने अनुमान गरिएको छ । बोगटीका अनुसार दुवैमाथि मितेरी सहकारी सञ्चालकहरूले १४ करोड ८१ लाख रुपियाँ रकम हिनामिनाको आरोपसहित किटानी जाहेरी दिएका छन् ।  

रेड नोटिस जारी भएकी ज्योति गुरुङ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी हुनुहुन्छ । ज्योति र धनराजको २०७६ सालमा सम्बन्धविच्छेद भएको थियो । सो सहकारीका अध्यक्ष कुम्मराज गुरुङको जाहेरीपछि प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको थियो । सम्बन्धविच्छेद हुनुअघि गुरुङ दम्पतीले सहकारीबाट लिएको ऋण २०७८ चैत ४ गते ललितपुर–५ मा रहेको चार आना जग्गामा बनेको घर दुई करोड ३५ लाख रुपियाँमा बेचेर ऋण चुक्ता गरेको पाइएको छ।

सहकारीको रकम दुरुपयोगबारे छानबिन गर्न गठित विशेष समितिले मितेरी सहकारीसहित उपत्यकाका १३ सहकारीमा बिहीवार अनुगमन गरेको थियो । जसमध्ये मितेरीसहित अन्य १० वटा सहकारी बन्द अवस्थामा भेटिएका थिए ।