पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

सभामुखले राष्ट्रिय दलका सचेतकसँग छलफल गर्दै

२०८१ भाद्र ३०, आइतवार ०९:५२ बजे

काठमाडौं- सभामुख देवराज घिमिरेले राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरुसँग संसद्को गतिरोध हटाउन छलफल गर्दै छन् ।

आज विहान ११ बजे सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक/सचेतकहरुसँग सभामुख घिमिरेले छलफल गर्न लागेका हुन् ।

'हिंसा' शब्द असंसदीय नरहेको सभामुखको रुलिङपछि माओवादी केन्द्रले संसदको बैठक अवरुद्ध गरिरहेको छ । 

सभामुखले भदौ २६ गतेको बैठकमा नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले भदौ १२ गते प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द हटाउन नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गरेको नियमापत्तिको निर्णय गरेका थिए । निर्णयमा असहमति जनाउँदै माओवादी केन्द्रले गत बुधबारको संसद अवरोध गरेका थिए । माओवादी केन्द्रले 'हिंसा' शब्द बारे सभामुखले गरेको निर्णय फिर्ता नलिएसम्म संसदको अवरोध जारी रहने निर्णय गरेको छ ।

माओवादी केन्द्रले आजको बैठक पनि अवरोध गर्ने निर्णय गरेपछि सभामुखले छलफल गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ ।