काठमाडौं- न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनमा उच्च अदालत पाटनमा पहिलो दिनको सुनवाइ सकिएपछि झगडिया झिकाउन आदेश दिएका छन् ।
उच्च अदालतमा आज सन्दीपको मुद्दा पहिलो नम्बरमै परेको थियो । झगडिया झिकाउने आदेश गर्दै न्यायधीशले मुद्दालाई प्रक्रियामा लगेका हुन् ।
पुनरावेदन मुद्दामा झगडिया झिकाइनु (झझी) एउटा औपचारिक प्रक्रिया हो । यदि तल्लो तहको अदालतले गरेका फैसलामाथि न्यायाधीशले पुनरावलोकन आवश्यक देखेको खण्डमा झझीको आदेश गर्ने गर्छन् । यो भनेको मुद्दाका दुवै पक्षहरूलाई बोलाउन वा खबर गर्न भनिएको हो ।
यदि तल्लो तहको अदालतले गरेको फैसला ‘क्लीन’ वा खोटमुक्त देखिएमा झझीको आदेश नहुन पनि सक्छ । यस्तो अवस्थामा जिल्ला अदालतले गरेको आदेश स्वतः सदर भएको मानिन्छ । जसलाई ‘सुरु सदर’ भन्ने गरिन्छ । सन्दीपको मुद्दामा झझी झिकाएर न्यायधीशले सुनवाइ आवश्यक रहेको सन्देश दिएका छन् ।
यसअघि गत १३ पुसमा सन्दीपलाई जिल्ला अदालत काठमाडौंले बलत्कार मुद्दामा दोषी ठहर गरेको थियो।
न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई बलत्कार मुद्दामा दोषी ठहर गर्दै किशोरी नाबालिग रहेको फैसला गर्दै उनलाई ८ वर्ष कैद, ३ लाख जरिवाना र २ लाख क्षतिपुर्ति भराउन आदेश दिएको थियो।
त्यसपछि सन्दीप १० फागुनमा जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालतमा पुगेका थिए। सन्दीप उच्च अदालत पुगेलगतै १ चैतमा सरकारी पक्षपनि पीडित ‘गौशाला २६’ नाबालिक रहेको भन्दै उच्च अदालत पुगेको थियो।