काठमाडौँ : केन्द्रीय कारागारमा विभिन्न ३१ देशका २६१ विदेशी कैदीबन्दी रहेका छन् । विदेशबाट नेपाल आएर विभिन्न आपराधिक कार्यमा संलग्न उनीहरूलाई केन्द्रीय कारागारमा राखिएको हो ।
केन्द्रीय कारागारमा हाल भारतीय १३५, चिनियाँ २९, पाकिस्तानका १७, दक्षिण अफ्रिकाका १४, बङ्गलादेशका ९, थाइल्याण्ड ८, बोलिभिया ५, मलेसिया ४, फिलिपिन्स ३, अमेरिका ३, जर्मनी ३, सुडानका ३ कैदीबन्दी रहेका छन् ।
साउदी अरब, सुडान, हङकङ, बेलारुस, नर्वेलगायतका देशका एक/एक जना कैदीबन्दी रहेको कारागार प्रशासक ललितकुमार बस्नेतले जानकारी दिए ।
बिस १९७१ मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा हाल ३ हजार ४६९ कैदीबन्दी रहेकामध्ये २६१ विदेशी कैदीबन्दी रहेको बस्नेतले जानकारी दिए ।
उनका अनुसार विदेशी कैदीबन्दीमध्ये लागूऔषध मुद्दाका बढी कैदीबन्दी रहेका छन् । हालसम्म ११३ विदेशी नागरिक अवैध लागूऔषध ओसारपसारमा संलग्न रहेकाले कारागार बसेका छन् ।
त्यसैगरी जबरजस्ती करणीमा ३३ विदेशी नागरिक जेल परेका हुन् । त्यसबाहेक अवैध रुपमा सुन ओसारपसारमा २५, ठगी मुद्दामा १६, कर्तव्य ज्यानमा १०, अपहरणमा ८, जीउ बेच्ने मास्नेमा ७ र विविध मुद्दामा २५ विदेशी नागरिक जेल परेका छन् ।
नेपालकै सबैभन्दा पुरानो र ठूलो कारागार सुन्धारामा स्थान अभावका कारण ५६ कैदीबन्दीलाई भर्खरै नख्खु कारागार स्थानान्तरण गरिएको कारागार प्रशासक बस्नेत बताउँछन् । नख्खु स्थानान्तरण गरिएका कैदीबन्दीमध्ये ५४ नेपाली र २ विदेशी रहेका छन् । केन्द्रीय कारागारको क्षमता १ हजार ७ सय रहेपनि हाल ३ हजार ४ सयभन्दा बढी कैदीबन्दी हुँदा साँघुरो भएको छ ।