काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा धेरैभन्दा धेरै विद्युत् खपत गर्न अनुरोध गरेका छन्।
विद्युत् खपतको लागि पर्याप्त विद्युत् भएकाले तिहारमा जतिसक्दो बढी विद्युत् प्रयोग गर्दा पनि लोडसेडिङ नहुने उनले बताएका हुन् । कार्यकारी निर्देशक घिसिङले कुनै प्राविधिक समस्याबाहेक लक्ष्मी पूजामा बत्ती नजाने बताए । उनले यो वर्षको तिहारमा मुलुकभित्र पुग्ने विद्युत् उत्पादन रहेको भन्दै तिहारको लागि विद्युत् आयात गर्नुपर्ने अवस्था नरहेको बताए।
उनले सकेसम्म तिहारमा विद्युत् पुर्याएर निर्यात समेत गर्न पुग्ने विद्युत् प्राधिकरणसँग रहेको बताए । घिसिङले असोज दोस्रो साता आएको बाढीले ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित जलविद्युत आयोजनामा ठुलो क्षति पुर्याएको बताए ।
उनले अधिकांश जलविद्युत आयोजना नदी प्रवाहमा आधारित रहेका कारण हिउँदमा भने आयात गरेर व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको बताए । उनले अहिले पनि २१ सय मेगावट विद्युत् उत्पादन भएपनि घटेर १९ सयमा झरेको बताए । उनले यो वर्ष बाढी पहिरोका कारण जलविद्युत आयोजनाहरूमा क्षति पुगेका कारण हिउँदमा थप विद्युत् आयात गर्नुपर्ने अवस्था रहेको बताए ।