पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

कविता - बा आउनु भएको छैन

२०८१ आषाढ २२, शनिवार १४:२२ बजे

कविता 

बा आउनु भएको छैन 

         ‌- सिद्धिचरण श्रेष्ठ

पानी परिरहेछ,

हावा चलिरहेछ,

समयले अबेर ओढिसक्यो,

बत्ती बलिसक्यो,

भात पाकिसक्यो,

आमा कराउनु भइरहेछ-

बा आउनु भएको छैन ।

 

युग बद्लिसक्यो,

राणा ढलिसक्यो,

भन्दछ जंजीर टुटिसक्यो,

अझ पनि आजादी आएको छैन,

प्रगति आएको छैन,

प्रजातन्त्र आएको छैन,

आमा कराउनु भइरहेछ-

बा आउनु भएको छैन ।

 

हाम्रो बिचारको घुँयेत्रोले

हाम्रो कल्पनाको बज्रले

अन्धकारको टाउको फुटिसक्यो

अझ पनि नयाँ बिहान आएको छैन

नयाँ युग आएको छैन

नयाँ दिन खुलेको छैन

आमा कराउनु भइरहेछ -

बा आउनु भएको छैन ।