काठमाडौं- सहकारी ठगी र संगठित अपराध गरेको आरोपमा पाँच दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेले प्रहरीलाई इन्कारी बयान दिएर आफु माथि लागेका आरोप अस्वीकार गरेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले रविको बयान लिइरहेको छ । ब्यूरोका प्रहरी निरीक्षकको टोलीले रविसँग सोमबार बयान लिइरहेको हो । मुख्यगरी सूर्यदर्शनसहित पाँच वटा सहकारीबाट ६५ करोड बढी रकम गोरखा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप रविमाथि छ ।
प्रहरी उच्च स्रोतका अनुसार रविले आफू गोरखा मिडियामा पुग्दा सहकारीको रकम भित्रिसकेको बयान दिएका छन् । यसैगरी आफू कामदार भएकाले त्यसको सम्पूर्ण जिम्मेवारी तत्कालीन अध्यक्ष जितेन्द्र बाबु राई (जीबी)ले लिनुपर्ने बयान दिएका हुन् । सोमबार करिब चार घण्टा बयान लिएको र उनले आरोप इन्कार गरेको प्रहरीले जनाएको छ। सबै जिम्मेवारी जीबीले लिनुपर्ने समेत उनको भनाइ रहेको प्रहरीले बताएको छ। जीबी भने हालसम्म पनि फरार छन् ।
मिडियाका तत्कालीन प्रबन्ध निर्देशन रहेका रविको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । रविका पार्टनर छविलाई कास्की प्रहरीले बयान लिइसकेको छ ।
प्रहरीले छविलाल बञ्जाडेसँग लिएको १५ प्रतिशत सेयरबारे पनि प्रश्न सोधेको थियो । जवाफमा रविले आफूले उक्त सेयर फिर्ता गरिसकेको उल्लेख गरेका थिए ।
सहकारी ठगीसम्बन्धी विशेष संसदीय छानबिन समितिलाई सूर्यदर्शन सहकारीका कोषाध्यक्ष मदनकुमार रम्तेलले दिएको बयानअनुसार पनि रविमाथि लगाइएका आरोपबारे प्रहरीले सोधेको थियो । रम्तेलले सहकारीको रकम बैंकमा जम्मा गरेका व्यक्ति रवि नै हुन् भन्ने बयान दिएका थिए । प्रहरीको प्रश्नमा रविले सहकारीको आफू सदस्य नभएको र त्यो अवस्थामा आफूले ऋण लिने कुरा नभएको बयान दिएका छन्।
ग्यालेक्सीमा रहँदा कम्पनीको नाफा र घाटाको विश्लेषण नगरी धमाधम किन चेक काटेको ? भनेरसमेत प्रहरीले रविसँग प्रश्न गरेको थियो । रविले प्रशासनिक जिम्मेवारीमा रहेकाले कर्मचारीलाई तलब, सुविधा र अन्य प्रशासनिक खर्चको चेक आफूले काटेको बयान दिएका छन् ।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार रविले सहकारीको रकम गोरखा मिडियामा ल्याउनुमा आफ्नो कुनै भूमिका नरहेको बयान दिएका छन् । प्रहरीले आज पनि रविसँग बयान लिने छ । भोलि पुनः कास्की अदालतमा म्याद थपका लागि लगिने प्रहरीले जनाएको छ ।
यसअघि सूर्यदर्शनलगायत सहकारीको पैसा गोरखा मिडियामा ल्याएर दुरूपयोग गरेको भन्दै संसदीय छानबिन विशेष समितिले लामिछानेसहित ४ जनालाई कारबाही गर्न सिफारिश गरेको थियो ।
सोही प्रतिवेदन कार्यान्वयनका क्रममा रविलाई पक्राउ गरिएको हो । प्रहरीले गत शुक्रवार राति काठमाडौंको वनस्थलीस्थित रास्वपाको कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको थियो । उनलाई हिरासतमा राखी अनुसन्धान गर्न अदालतले ६ दिनको अनुमति दिएको छ । जुन भोलि सकिँदै छ ।