काठमाडौं- इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यान्चेरस्टर सिटी पराजित भएको छ। शनिवार राति भएको खेलमा पाहुना टोली सिटी बोर्नमाउथसँग १–२ गोलले पराजित भएको हो।
घरेलु टोलीको जीतमा एन्टोन सेमेन्यो र इभानिल्सनले एक एक गोल गरे। यता, सिटीका लागि जोस्को ग्वार्डियोल गरेको गोल सान्त्वना बन्यो।
पहिलो हाफमै १–० गोलले पछि परेको सिटीले दोस्रो हाफमा एक गोल गर्दै खेलमा फर्किने संकेत गरेको थियो।
खेलको नवौँ मिनेटमा सेमेन्योको गोलबाट बोर्नमाउथले सुरुआती अग्रता बनाएको थियो। ६४औँ मिनेटमा इभानिल्सनले गोल गर्दै २–० को अग्रता दिलाएका थिए। तर, ८२औँ मिनेटमा ग्वार्डियोलले गोल गरेपछि खेल २–१ को अवस्थामा आएको थियो।
त्यसपछि बाँकी समय थप गोल नहुँला सिटी जारी लिगमा पहिलो पराजय ब्यहोरन बाध्य भयो। यो पराजयसँगै सिटी १० खेलबाट २३ अंकसहित दोस्रो स्थानमा झरेको छ।