पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

इटालियन सुपर कपको उपाधि एसी मिलानलाई

२०८१ पौष २३, मङ्गलवार ०७:४१ बजे

काठमाडौं- इटालियन सुपर कपको उपाधि एसी मिलानले जितेको छ ।

क्रिस्टियन पुलिसिक र युनुस मुसाहको प्रभावशाली प्रदर्शनमा एसी मिलानले सोमबार रियाद, साउदी अरेबियामा भएको सुपरकप इटालियनको फाइनलमा इन्टर मिलानलाई ३-२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

पहिलो हाफमा इन्टर हावी भएको खेलमा दोस्रो हाफमा भने एसी मिलानले कमब्याक गरेको थियो । 

इन्टर मिलानका कप्तान लाउटारो मार्टिनेजले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै १-० को अग्रता दिलाए । दोस्रो हाफको सुरुवातमै इरानी फर्वार्ड मेहदी तारेमीले अर्को गोल थपेपछि इन्टर २-० को सहज अवस्थामा रहेको थियो । 

एसी मिलानले ५३औं मिनेटमा लियोले बक्स बाहिरबाट प्रहार गरेको फ्रिकिकलाई थियो हेर्नान्डेजले गोलमा परिणत गर्दै खेलमा फर्काउने शंकेत गरे ।

खेलको ८०औं मिनेटमा लियो र हेर्नान्डेजको समन्वयले मिलानलाई बराबरी गोल दिलायो । हेर्नान्डेजको क्रसलाई पुलिसिकले दुई पटक बल नियन्त्रण गर्दै गोलमा परिणत गरेपछि खेल २-२ को बराबरीमा आएको थियो । 

खेलको इन्जुरी समयमा पुलिसिकले दायाँ विंगबाट बल अघि बढाउँदै लियोलाई पास दिए । लियोले इन्टरका गोलकिपर यान सोमरलाई छल्दै बल ट्यामी अब्राहमसम्म पुर्याए, जसले सहजै गोल गर्दै मिलानलाई ३-२ को ऐतिहासिक जित दिलाउन सफल भए ।  

यो जित मिलानका नयाँ प्रशिक्षक सर्जियो कोन्सेसाओको नेतृत्वमा पहिलो उपाधि हो । मिलानले यो उपाधिसँगै ८ मिलियन पुरस्कार रकम पनि जितेको छ ।