पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

बाढी पहिरोपछि बन्द भएको काठमाडौं-हेटौंडा जोड्ने तीन वटा सडक सञ्चालन

२०८१ आश्विन २०, आइतवार २१:०१ बजे

काठमाडौं- बाढी पहिरोपछि बन्द भएको काठमाडौं-हेटौंडा जोड्ने तीन वटा सडक सञ्चालनमा आएको छ ।

बिगत नौ दिनदेखि निरन्तर काम गरेर सो सडक आजबाट सञ्चालनमा आएको हो ।

बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं, कुलेखानी–फाखेल–हुमानेभन्ज्याङ–फर्पिङ–काठमाडौ र कुलेखानी–महालक्ष्मीखोला–चखेल–मातातीर्थ–काठमाडौं गरी तीन वटा सडक सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

यसका लागि भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालय, प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजना, पूर्वाधार विकास कार्यालय मकवानपुर र ललितपुर एकसाथ खटिएर निरन्तर काम गरिएको समेत मन्त्री मास्केले बताउनुभयो।

मन्त्री मास्केका अनुसार १० देखि १२ असोजसम्म परेको वर्षाका कारण र कुलेखानी जलविद्युत केन्द्रले पानी छोड्दा काठमाडौंबाट हेटौंडा जोड्ने सडकहरु अवरुद्ध भएका थिए । ‘९ दिनदेखि सडकहरु अवरुद्ध थिए । हामीले निरन्तर काम गरेर आइतबारबाट तीन वटा मार्गलाई खुलाएका छौं’, मन्त्री मास्केले भन्नुभयो ।

मन्त्री मास्केका अनुसार दक्षिणकालीदेखि सिस्नेरीसम्म सानाठूला गरी ६० वटा र सिस्नेरीदेखि भैंसेसम्म ४० वटा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो । दशैंलाई लक्षित गरेर प्रदेश सरकारले हतारहतार अस्थायी रुपमा सडक खुलाएको भन्दै उहाँले अब दीर्घकालिन तरिकाले योजना बनाएर काम गर्ने बताउनु भयो ।

उहाँका अनुसार तीन वटा सडकमा ५ वटा डाइभर्सन बनाइएको छ । कुलेखानी–सिस्नेरी खण्डको ज्यामिरेमा, कुलेखानी–फाखेल खण्डको महालक्ष्मी खोलामा, कुलेखानी ड्याम क्षेत्रमा र दक्षिणकाली नगरपालिका क्षेत्रमा गरी ५ वटा डाइभर्सन निर्माण गरिएको मन्त्री मास्केले बताउनु भयो ।

उहाँले बाढीले महालक्ष्मी खोलामा ७० मिटर सडकमा क्षति पुगेको जानकारी दिनुभयो । उहाँले गाडी अड्किएको अवस्थामा कुलेखानी र महालक्ष्मी खोलामा जेसिबी तयारी अवस्थामा राखिएको बताउनु भयो ।

कुलेखानी–मार्खु–चित्लाङ–चन्द्रागिरी–थानकोट सडक भने बुधबारदेखि नै खुलाइएको थियो । हेटौंडालाई धादिङ नौबिसे हुँदै काठमाडौं जोड्ने पुरानो सडक त्रिभुवन राजपथ पहिल्यै सञ्चालनमा ल्याइसकिएको थियो । कान्तिलोकपथ सडक खण्ड भने सञ्चालनमा आइसकेको छैन । भीमफेदी र ललितपुर जोड्ने बागमती पुल बगाएकाले उक्त सडक खण्ड अवरुद्ध छ।