पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

नेपाल प्रहरी : अपराध अनुसन्धानमा पोलिग्राफ, पाँच हजार ४१७ जनाको परीक्षण

२०८० फाल्गुण २२, मङ्गलवार ०८:४० बजे

काठमाडौं : नेपाल प्रहरीमा पोलिग्राफ शाखाको स्थापनादेखि हालसम्म पाँच हजार ४१७ जनाको पोलिग्राफ परीक्षण गरिएको छ । १० वर्षको अवधिमा जम्मा दुई हजार ७७८ मुद्दाका पोलिग्राफ परीक्षण गरिएको हो ।
तीमध्ये आर्थिक वर्ष २०७०\०७१ मा २२५ जना, आ.व.२०७१\०७२ मा ४६८ जना, आ.व. २०७२\०७३ मा ३९१ जना, आ.व. २०७३\०७४ मा ५४३ जना, आ.व. २०७४\०७५ मा ५८५ जनाको पोलिग्राफ परीक्षण गरिएको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७\०७६ मा ५८८ जना, आ.व. २०७६\०७७ मा ८५९ जना, आ.व. २०७७\०७८ मा ६०५ जना, आ.व. २०७८\०७९ मा ३८१ जना, आ.व. २०७९\०८० मा ४८२ जना र चालु आर्थिक वर्षमा २९० जनाको पोलिग्राफ परीक्षण गरिएको छ ।
परीक्षण गरिएकामध्ये नेपाल प्रहरीका २४१ जना, पूर्वप्रहरी कर्मचारी ६ जना, नेपाली सेनाका ४० जना, राष्ट्रिय अनुसन्धान विभागका पाँचजना र सशस्त्र प्रहरी बलका २९ जना गरी जम्मा ३२१ जना रहेका छन् ।

व्यक्तिले बोलेका कुराहरूको सत्यता जाँच गर्ने प्रविधि पोलिग्राफ हो । यसलाई वैज्ञानिक भाषामा झुठो बोलेको पत्ता लगाउने मनोशारीरिक प्रविधि पनि भनिन्छ । पोलिग्राफ आधुनिक विधिविज्ञानको सबैभन्दा पुरानो प्रविधि हो । नेपाल प्रहरीमा २०७० माघ २२ गतेबाट ‘नेपाल प्रहरी पोलिग्राफ निर्देशिका, २०७०’ लागु भएपश्चात विधिवत पोलिग्राफ परीक्षण थालनी भएको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल भन्छन्, “पोलिग्राफ परीक्षणबाट अपराध अनुसन्धानलगायत अन्य विभिन्न अनुसन्धानहरूमा महत्त्वपूर्ण टेवा पुगेको छ । हालसम्म परीक्षण गरिएकामध्ये करिब ५० प्रतिशत परीक्षणहरूले अनुसन्धानलाई निर्देशित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको तथ्यांले देखाएको छ । यसलाई अझ प्रभावकारी बनाउन कर्मचारीलाई तालिम तथा आधुनिक उपकरणहरूको प्रयोगलाई विशेष ध्यान दिने गरिएको छ ।”

पोलिग्राफ प्रि–टेष्ट, टेष्ट र पोष्ट टेष्ट गरी तीन चरणमा परीक्षण गरिन्छ । पोलिग्राफ परीक्षण सञ्चालन गर्दा परीक्षण गरिने व्यक्तिको स्वीकृति अनिवार्य लिनुपर्ने व्यवस्था छ । शंकित व्यक्तिले झुठ बोले\नबोलेको परीक्षणले संकेत गर्दछ । चालु आर्थिक वर्षको साउनदेखि माघसम्म सात महिनाको अवधिमा १४३ वटा मुद्दाका २९० जनाको पोलिग्राफ परीक्षण गरिएको छ । तीमध्ये २६३ पुरूष र २७ महिला छन् । उनीहरूमध्ये झुठ बोलेको संकेत १०६ जना, झुठ नबोलेको संकेत १७० जना, राय दिन नसकेको अवस्था दुईजना, परीक्षण स्वीकृति नदिएको ११ जना र विश्लेषणको लागि अपर्याप्त संकेत एकजनामा देखिएको छ ।
घटनाको अनुसन्धानको क्रममा पक्राउ परेका व्यक्ति वा शंकित वा पीडित वा साक्षीहरूले बोलेको कुराहरूको सत्यता परीक्षण गर्नको लागि पोलिग्राफको प्रयोग गरिन्छ । पोलिग्राफको माध्यमबाट अनुसन्धानलाई परिणाममुखी बनाउने, अनुसन्धानको दायरालई साँघुरो बनाउने, निर्दोष व्यक्तिको निर्दोषिता पुष्टि गर्ने, प्रमाणहरूको पहिचान तथा अन्य घटनासँग सम्बन्धित विविध कुराहरू पहिचान गर्न सकिन्छ ।

हाल केन्द्रीय पोलिग्राफ मातहत रही अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी लगायत सात वटै प्रदेश प्रहरी कार्यालयहरूमा पोलिग्राफ परीक्षण हुँदै आएको छ ।