काठमाडौं : संयुक्त राष्ट्रसङ्घीय बाल कोष (यूनिसेफले पूर्वी र दक्षिणी अफ्रिकामा मानवीय सङ्कट आउन नदिन एक अर्ब ४० करोड अमेरिकी डलर माग गरेको छ । जलवायु परिवर्तनका कारण उत्पन्न मानवीय सङ्कटले यस क्षेत्रका बालबालिकाको स्वास्थ्यमा समेत असर पारिरहेको यूनिसेफले बताएको छ ।
पूर्वी र दक्षिणी अफ्रिकाका लागि युनिसेफका क्षेत्रीय निर्देशक एट्लेभा काडिलीद्वारा जारी विज्ञप्तिमा जलवायु सङ्कट टाढाको खतरा नभई यस क्षेत्रका बालबालिकाको स्वास्थ्यका लागि तत्काल खतरा भएको बताएका छन् ।
‘जलवायु परिवर्तनले बालबालिकामा पारेको प्रभावले सङ्कटको मूल कारणलाई सम्बोधन गर्न बालबालिकालाई सहयोग पुर्याउन दिगो समाधानका लागि तत्काल कदम चाल्न आवश्यक छ भन्ने कुराको स्मरण गराउँछ,’ उनले भने ।
युनिसेफका अनुसार सन् २०२४ को सुरुमा आउने बाढी र सन् २०२४ को अधिकांश समय जारी रहने अनुमान गरिएको खडेरीजस्ता एल निनोको प्रभावको सङ्केत गर्ने प्रक्षेपणले आवश्यकतालाई बढाएको हो । युनिसेफका अनुसार एक अर्ब ४० करोड अमेरिकी डलरले सन् २०२४ मा आफ्नो मानवीय प्रतिक्रियालाई निरन्तरता दिनमात्र सम्भव हुने भएकोले थप सहायता जुटाउनुपर्ने भएको हो ।