काठमाडौं- एक नेपाली समलिङ्गी पुरुषले नेपालमा अमेरिकी समलिङ्गी पुरुषसँग विवाह दर्ता गरेका छन्।
सुनसरीको धरान उपमहानगरपालिका वडा नं ११ को कार्यालयले प्रजित बुढाथोकी र न्यु योर्क, संयुक्त राज्य अमेरिकाका जोसेफ फोस्टर एलिसलाई समलिङ्गी विवाह दर्ता प्रमाणपत्र दिएको छ। नेपाली समलिङ्गी पुरुषले विदेशी समलिङ्गी पुरुषसँग विवाह दर्ता गरेको यो पहिलो हो।
विवाह दर्ताको सन्दर्भमा यसअघि माया गुरुङ्ग र सुरेन्द्र पाण्डे दक्षिण एसियामै पहिलो समलिङ्गी तेस्रो लिङ्गी जोडीको विवाह दर्ता गर्न सफल भएका थिए। १३ मङ्सिर २०८० मा माया र सुरेन्द्रले लमजुङको दोर्दी गाउँपालिका कार्यालयमा विवाह दर्ता गराएका थिए।
नेपाली समलिङ्गी पुरुषल र विदेशी समलिङ्गी पुरुषको विवाह प्रमाणपत्रमा दुबै जना पति उल्लेख गरिएको छ। जोसेफ र प्रजितलाई एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिलबाबु पन्तले बधाई दिएका छन्।
मायाको पहिचान नेपालको पहलमा स्थानीय निकायमा समलिङ्गी तेस्रो लिङ्गी जोडीहरूको विवाह दर्ता हुने क्रम भइरहेको मायाको पहिचान नेपालका कार्यकारी निर्देशक समेत रहेका पन्तले जानकारी दिए।
स्थानीय निकायमा विवाह दर्ता गर्न मद्दत पन्तले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर सेयर गर्दै जोसेफ र प्रजितको चाडै विवाह उत्सव हुन गइरहेको उल्लेख गरेका छन्।
१२ वैशाख २०८१ मा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न ७५३ वटै स्थानीय तहलाई परिपत्र जारी गरेको थियो। मायाको पहिचान नेपालको पहलमा परिपत्र जारी भएसँगै स्थानीय तहहरूले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीहरूको विवाह दर्ता प्रमाणपत्र जारी गर्न थालेका हुन्।