पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

आईपीएल : उपाधिका लागि सनराइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्स भिड्ने

२०८१ जेष्ठ १२, शनिवार ०६:३५ बजे

एजेन्सी : इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधिका लागि सनराइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्स भिड्ने भएका छन् । गएराति सम्पन्न दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै हैदरावादले कोलकातासँगको भेट पक्का गरेको हो ।
यसअघि पहिलो क्वालिफायरमा हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाता फाइनलमा पुगेको हो । यी दुई टोलीबीचको फाइनल आइतबार भोलि चेन्नईमा हुनेछ । गएराति हैदरावादले दिएको १७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३९ रनमात्रै बनाउन सक्यो । राजस्थानका ध्रुव जुरेलले अविजित रहँदै सर्वाधिक ५६ रन बनाए ।
उनले ३५ बलमा ७ चौका र २ छक्का प्रहार गरे। ओपनर यशस्वी जायसवाल ४२ रनमा आउट हुँदा राजस्थानका अन्य ब्याटर चल्न सकेनन् । हैदरावादका शाहबाज अहमदले सर्वाधिक ३ विकेट लिए । अभिषेक शर्माले २ विकेट लिँदा प्याट कमिन्स र थंगारसु नटराजनले १\१ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७५ रन बनाएको थियो ।