नयाँ दिल्ली : दक्षिण भारतीय अभिनेता प्रभासको आगामी फिल्म सलारको ट्रेलर रिलिज भएको छ । शुक्रबार १ डिसेम्बरमा रिलिज भएको यो ट्रेलर रिलिज हुने बित्तिकै ट्रेन्डिङमा थियो । युट्युबमा ५ ओटा भाषामा रिलिज भएको फिल्मको ३ मिनेट ४७ सेकेन्डको ट्रेलरलाई २२ घण्टामा १० करोड ५० लाख पटक हेरिएको थियो ।
रिलिजको ३० मिनेटमै ट्रेलरले ३२ लाख भ्यू पाएको थियो । सबैभन्दा धेरै भ्यू हिन्दी भाषामा ५ करोड १० लाख थियो ।
फिल्म गएको वर्ष अप्रिल १४ मा रिलिज हुने बताइएको थियो । तर केजीएफ–२ को रिलिजका कारण निर्देशक नीलले यो फिल्मको रिलिज रोकिदिए । फिल्म गएको सेप्टेम्बर २८ मा रिलिज हुने बताइएको थियो । तर प्रडक्शनसँगको डिलको कारण यो मिति सरेर डिसेम्बर २२ मा पुग्यो । जुलाई ६ मा फिल्मको टिजर जारी भएको थियो । टिजरले पनि कयौँ रेकर्ड तोडेको थियो ।
प्रभासको सलार रिलिज हुने दिनमा शाहरुख खानको डंकी पनि रिलिज हुँदै छ । दुवै ठुला बजेटको फिल्म हुन् । अनि दुबैमा स्टार काष्टिङ छन् । बाहुबलीको सिक्वेलयता प्रभासले हिट फिल्म दिन सकेका छैनन् । निकै आशा गरिएको आदिपुरुषले पनि खासै कमाल गर्न सकेन । उल्टै प्रभासको करियरमा यस फिल्मले नकारात्मक प्रभाव पारेको छ । यस्तोमा सलारबाट प्रभासले निकै आशा गरेका छन् ।