काठमाडौं— सहकर्मीलाई यौन दुर्व्यवहार गर्ने निर्देशक थानेश्वर आचार्यलाई बर्खास्त गर्ने नेपाल राष्ट्र बैंकको निर्णय प्रशासकीय अदालतले बदर गरेको छ।
अदालतका अध्यक्ष डिल्लीराज घिमिरे, सदस्यद्वय रिता मैनाली र कृष्णप्रसाद पौडेलको इजलासले मंगलवार आचार्यलाई सेवाबाट बर्खास्त गर्ने राष्ट्र बैंक सञ्चालक समितिको निर्णयलाई बदर गर्ने फैसला गरेको हो।
बैंकमा कार्यरत एक उच्च पदस्थ महिलामाथि यौन दुर्व्यवहार गरेको निष्कर्ष निकाल्दै आचार्यलाई बैंकको सञ्चालक समितिको बैठकले २०८० चैत ६ गते भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको थियो।
तर बैंकको निर्णय बदर गरी पाउँ भन्दै आचार्यले असार २ गते सिंहदरबारस्थित प्रशासकीय अदालतमा मुद्दा दर्ता गरेका थिए।नगरकोटस्थित होटल माउन्टेन मिस्टिकमा २०८० पुस २७ गते बैंकद्वारा आयोजित तनाव व्यवस्थापनसम्बन्धी कार्यक्रमका क्रममा हलमा खाजा खाइरहेका बेला आचार्यले यौन दुर्व्यवहार गरेको पीडित महिलाको आरोप छ।