काठमाडौं : राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारहरु टुंग्याएको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवार टुंग्याएको भन्दै सोमबार बिहान निर्णय सार्वजनिक गरिएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले गठबन्धनमा जुटेको सहमतिअनुसार १० वटै उम्मेदवारको नाम टुंगो लगाइएको बताएका छन् ।
जसअनुसार कोशी प्रदेशबाट (अन्य)मा कृष्ण सिटौला, मधेस प्रदेशबाट (अन्य)मा आनन्दप्रसाद ढुंगाना, बागमती प्रदेशबाट (अन्य)मा जीतजंग बस्नेत र महिलामा विष्णुदेवी पुडासैनी उम्मेदवार छनोट भएका छन् ।
यस्तै, गण्डकी प्रदेशबाट (अन्य)मा किरणवावु श्रेष्ठ र (अपाङ्गता/अल्पसंख्यक)मा पदमबहादुर परियार छनोट भएका छन्। लुम्बिनी प्रदेशबाट (महिला)मा विष्णुकुमारी सापकोटा र कर्णाली प्रदेशबाट (अन्य)मा कृष्णबहादुर रोकाया छनोट भएका छन् ।
सुदूरपश्चिम प्रदेशबाट (अन्य)मा बलदेव बोहरा र (अपाङ्गता/अल्पसंख्यक)मा नारायणदत्त भट्ट छनोट भएका छन् ।
सत्तारुढ गठबन्धनका दलहरुबीच सिट बाँडफाँट हुँदा नेपाली कांग्रेसले १० उम्मेदवार उठाउने सहमति भएको थियो। गठबन्धनका अन्य दलहरु माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टीले १ जना उम्मेदवार उठाउने सहमति भएको थियो।
संघीय संसद्को माथिल्लो सदन (राष्ट्रिय सभा)का १ तिहाई (२० जना) सदस्य (सांसद)को पदावधिक आगामी फागुन २० गतेदेखि सकिँदैछ ।
फागुन २० गते कार्यकाल सकिनेमा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टीका १, स्वतन्त्र १ र राष्ट्रपतिद्वारा मनोनित १ जना छन् ।
पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै निर्वाचन हुनुपर्ने कानुनी व्यवस्थाअनुसार माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । राष्ट्रपतिबाट मनोनित बाहेक १९ जना सदस्य निर्वाचित गर्न माघ ११ गते निर्वाचन हुन लागेको हो ।
