काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले देश किन डुब्यो भन्नेकुराको जानकारी पाउन सिंहदरबार वैद्यखाना आएर हेर्दा स्पष्ट हुने बताएका छन्।
बुधवार सिंहदरबार वैद्यखानाको ३० औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सिंहदरबार वैद्यखाना सरकारले पूर्णरुपमा सञ्चालन गर्ने जिम्मेवारी लिनुपर्ने बताए । सरकारले सिंहदरबार वैद्यखाना सञ्चालन गर्न नसके काठमाडौं महानगरपालिकालाई सञ्चालनको जिम्मेवारी दिन आग्रह समेत गरे ।
उनले विक्री हुने कुरा घाटामा जान नसक्ने भन्दै औषधि उत्पादन बढाएर अर्थतन्त्रमा टेवा पुर्याउन सकिने बताए ।
‘वीर अस्पताल पनि उकासिनु पर्छ, सिंहदरबार वैद्यखाना पनि उकासिनुपर्छ । औषधि उत्पादन हुनुपर्यो । औषधि उत्पादन गर्ने संस्था कसरी घाटामा जान्छ, यसले त बेच्छ त । बेच्ने चिज पनि कसरी घाटामा जान्छ,’ उनले भने ‘सरकारले गरिदिनुपर्यो । सरकारले वैद्यखाना सञ्चालन गर्न सक्दैन भने महानगरपालिकालाई दनुपर्यो । महानगरपालिकाले सञ्चालन गर्छ ।’
‘यो देश किन डुबेको हो भन्दा अहिलेका साना विद्यार्थी, बाबुनानीहरु तथा अध्ययन गर्ने अभियन्ताहरु सबैले यो देश किन डुबेको भनेर हेर्न मन छ भने सिंहदरबार वैद्यखाना आएर हेरे हुन्छ । ठ्याक्कै थाहा हुन्छ, यो देश के कारणले डुब्छ ? यो देशमा के समस्या छ ? देशमा उत्पादन गर्ने विभिन्न सरकारी उद्योगहरु, सरकारले चलाएका विभिन्न उद्योगहरु कसरी डुब्छन् भन्नेकुरा ठ्याक्कै थाहा हुन्छ’ उनले भने ।
उनले लिजमा दिन नसके निजी संस्थाको प्रभाव र दबाबमा आएर सरकारी उद्योगहरुलाई डुबाइने गरेको बताए । उनले ०५८/५९ सालमा यहाँको बजेट ५ करोड बजेट पाउने सिंहदरबार वैद्यखानाको अहिलेको बजेट १ करोड पनि नरहेको बताए ।
उनले सरकारले ५० करोड बजेट छुट्याए पनि कम हुने ठाउँमा बजेट नै नहुनु दुःखद् भएको बताए । उनले आयुर्वेदिक उपचार नेपालको संस्कार र संस्कृति भएको बताए ।
सिंहदरबार वैद्यखाना र आयुर्वेदलाई जोगाउन नसके देश जोगाउन नसकिने बतए । मन्त्रालयले एलोपेथिक र आयुर्वेदिक दुवैलाई बराबर हेर्ने गरेको बताए ।
उनले सरकारले हेरेका निकायहरु सबै डुबेको उदाहरण दिँदै मन्त्रालयले हेर्ने खृष्टिकोण सबैमा बराबरी रहेको बताए । डुबेका उद्योगहरु उकास्न जरुरी रहेको बताए ।
उनले भने– ‘यो सरकारले हाम्रो ९० प्रतिशत सरकारी निकाय कि त लिजमा दिइन्छ, लिजमा दिएर बेचिन्छ, लिजमा दिन सकिएन भने निजी संस्थाको प्रभाव र दबाबमा आएर त्यसलाई डुबाइन्छ । किनभने प्राइभेट मात्रै औषधि खाउन्, प्राइभेट मात्रै उत्पादन खाऔँ । सबै चिज प्राइभेट मात्रै होस् । सरकारले केही पनि नगरोस् भन्ने हामी मान्यतामा रहेको देखिन्छ । ५८/५९ सालमा यहाँको बजेट ५ करोड थियो अहिले १ करोड छ । यहाँको बजेट ५० करोड पनि कम हुन्छ, वास्तवमा भन्दा । पहिला पहिला यो ठाउँमा खालि क्षेत्र धेरै थियो । औषधि धेरै उत्पादन हुन्थ्यो । अहिले जताततै भवन छ, औषधि छैन । दोष यो सरकारलाई मात्रै पनि दिनु हुँदैन ।’
मेयर साहले सबै सरकारी निकायहरु उकास्नुपर्ने बताए । उनले सरकारी ९० प्रतिशत उद्योगहरु लिजमा दिएर बेचिने गरेको पनि खुलासा गरे ।