एजेन्सी– इजरायल र गाजाबीच १४ महिनादेखि चलिरहेको युद्धको हालसम्म कुनै समाधान निस्किएको छैन। विश्वले नयाँ वर्षलाई हर्षोल्लासका साथ मनाइरहेको बेला यो वर्ष गाजाका बासिन्दाका लागि भने कुनै राहत आएन।
गाजा अधिकारीहरूले बुधबार इजरायली आक्रमणमा परी कम्तीमा ९ प्यालेस्टिनीहरू मारिएका बताएका छन्। जसमा अधिकांश महिला र बालबालिका रहेका बताएका छन्। इजरायली सेनाले उत्तरी गाजाको जबलिया क्षेत्रमा रहेको एउटा घरमा आक्रमण गर्दा यस क्षेत्रको अवस्था झनै बिग्रिएको छ। यो क्षेत्र युद्धका कारण पूर्ण रूपमा ध्वस्त र अलग अलग भइसकेको छ।
गाजाको स्वास्थ्य मन्त्रालयले यस हमलामा एक महिला र चार बालबालिकासहित सात जनाको मृत्यु भएको र १२ जनाभन्दा बढी घाइते भएको जानकारी दिएको छ। मध्य गाजाको बुरेज शरणार्थी शिविरमा बुधबार भएको अर्को आक्रमणमा अल-अक्सा सहिद अस्पतालले एक महिला र एक बालकको मृत्यु भएको पुष्टि गरेको छ।
हमासले अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गरेपछि हिंसा बढ्दै गएको छ। हमासको यो आक्रमणमा १२०० भन्दा बढी मानिस मारिएका थिए भने करिब २५० जनालाई बन्धक बनाएको थियो।