काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज (मंगलबार) उजुरी दिन सकिने भएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले निर्धारण गरेको निर्वाचन कार्यक्रमअनुसार मंगलबार उम्मेदवारविरुद्ध उजुरी दिने कार्यतालिका छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सोमबार उम्मेदवारहरुले मनोनयन दर्ता गरेका थिए । राष्ट्रिय सभाका १९ जना सदस्यका लागि माघ ११ गते हुने निर्वाचनका लागि सोमबार ७ प्रदेशबाट ५२ जनाले उम्मेदवारी दिएका थिए ।
राष्ट्रिय सभा सदस्य पदका लागि कोशी प्रदेशमा २ सिटका लागि ५ जना, मधेस प्रदेशका २ सिटका लागि ५ जना र बागमती प्रदेशमा ४ सिटका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। यस्तै, गण्डकी प्रदेशमा ३ सिटका लागि ८ जना, लुम्बिनी प्रदेशमा २ सिठका लागि ७ जना, कर्णाली प्रदेशमा ३ सिटका लागि ६ जना र सुदूरपश्चिम प्रदेशमा ३ सिटका लागि ६ जनाले उम्मेदवारी दिएका छन् ।
आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभाका १ तिहाई (२० जना) सदस्य (सांसद)को पदावधि सकिँदैछ । पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै निर्वाचन हुनुपर्ने कानुनी व्यवस्थाअनुसार माघ ११ गते निर्वाचन हुन लागेको हो ।
पदावधि सकिन लागेका २० मध्ये राष्ट्रपतिबाट मनोनित हुने एउटा सिट बाहेक अन्य १९ सिटका लागि निर्वाचन हुन लागेको हो । निर्वाचनका लागि सात प्रदेशमा १–१ मतदानस्थल र २–२ वटा मतदान केन्द्र कायम गरिएको छ ।