पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

कविता - पुरानो मान्छे

२०८१ श्रावण ५, शनिवार १०:३२ बजे

कविता 

पुरानो मान्छे 

               - श्रवण मुकारुङ 

यस धर्तीको सबभन्दा पुरानो मानिसलाई मार्न

सबभन्दा नयाँ कुरा चाहिन्छ ।

तिमीसित अब के छ त्यस्तो कुरा...? 

सुधारिएको प्रजातन्त्र ? गणतन्त्र ? 

अत्याधुनिक बन्दुक ट्याङ्क, मिसाइल, रकेट लञ्चर 

वा जैविक हतियार अथवा अन्तर्राष्ट्रिय गीत... ? 

घर जलाइदियौ 

घरसँगै उसका बालबच्चाहरू जले 

श्रीमती, दाजुभाइ र इष्टमित्रहरू जले 

गाइगोठ, बाख्रा – सुँगुर र फूलहरू जले 

उसले लगाएको भाङ्ग्रा, भोटो र गाँदो जल्यो 

बख्खु, धोती र हाकुपटासी जल्यो 

थाहा छ 

ऊ किन जलेन ? 

उसलाई आतङ्ककारी भन्यौ 

सरकारी गुप्तचर भन्यौ 

तिम्रो चरम् यातनाले 

उसका विनयी हातहरू छिनालिए 

उसका निर्दोष आँखा र जिब्रो थुतिए 

घाँटी र खुट्टाहरू गिँडिए 

रगतको आहालमा चलिरहेको उसको पृथ्वीजस्तो मुटुलाई सङ्गीनमा उनेर 

विजयीको हु‌ङ्कार गर्यो 

तर थाहा छ 

ऊ किन मरेन ? 

यस धर्तीको सबभन्दा पुरानो मानिसलाई मार्न 

सबभन्दा नयाँ कुरा चाहिन्छ । 

तिमीसित अब के छ त्यस्तो कुरा... ?

भाषा ?

धर्म ?

जाति, संस्कृति, सम्प्रदाय, राष्ट्रियता

वा मानवअधिकार

अथवा सुप्रिम अमेरिका ? तिमीसित अब

के छ बाँकी त्यस्तो कुरा...?

जसले यस धर्तीको सबभन्दा पुरानो मानिसलाई मार्न सक्छ

के तिमी खेतमा धानको गन्धलाई मार्न सक्छौ ?

के तिमी पहाडमा बतासको गन्धलाई मार्न सक्छौ ?

के तिमी समुद्रमा पानीको गन्धलाई मार्न सक्छौ ?

तिमीसित अब के छ त्यस्तो कुरा...

भन ! के छ ?

जसले-

यस धर्तीको पसिनाको गहुँगोरो गन्धलाई मार्न सक्छ ।