एजेन्सी- युइएफए च्याम्पियन्स लिगमा एस्टन भिल्लाले लगातार तेस्रो जीत दर्ता गरेको छ । मंगलबार राति भएको खेलमा एस्टनले बोलोग्नलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको हो ।
खेलको ५३ औं मिनेटमा म्याकगिनले फ्रिकिकबाट गोल गर्दै एस्टन भिल्लालाई १-० को अग्रता दिलाए । बोलोग्नाले यो गोलको विरोध गर्दै भिएआर जाँचको माग गरे पनि रेफ्रीले गोललाई मान्यता दिए ।
६४ औं मिनेटमा डुरानले अर्को गोल गर्दै एस्टन भिल्लालाई २-० को अग्रता दिलाए । इटालियानोले आफ्नो टोलीमा केही परिवर्तन गर्दै खेलमा फर्किने प्रयास गरे तापनि बोलोग्नाले अवसरलाई गोलमा परिणत गर्न सकेन ।
एस्टन भिल्लाका प्रशिक्षक ऊनाई एमरीले बोलोग्नाविरुद्धको २-० को जितपछि आफ्नो खुसी व्यक्त गरेका छन् । यो जितले एमरीको नेतृत्वमा एस्टन भिल्लाले युइएफए च्याम्पियन्स लिगमा शतप्रतिशत सफलता कायम राखेको छ । भिल्ला पार्कमा आयोजित खेलमा एमरीले आफ्नो दुई वर्षे कार्यकालको वर्षगाँठलाई उत्सवमय बनाउन सफल भए, जसले क्लबलाई लिगको शीर्ष स्थानमा पुर्याएको छ ।
एमरीले जितपछि भने, ‘म धेरै खुसी छु। आजका समर्थकहरूले हाम्रो टोलीलाई ऊर्जा दिए र खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरे । हामीले परिपक्वता देखायौं, प्रतिस्पर्धीलाई सम्मान गर्दै जित्नका लागि खेल्यौं । बलबिना हामीले राम्रो प्रेस गर्यौं, र बलसँग खेल्दा उनीहरूको प्रेस ब्रेक गर्न सफल भयौं ।’
एमरीले च्याम्पियन्स लिगमा तीन खेलमा लगातार तीन जीत दर्ता गर्दै क्लबको अपराजित यात्रालाई १० खेलसम्म पुर्याउन सफल भएका छन् । उनले भने, ‘यो हाम्रो चुनौती हो। हामीले यो स्तरलाई निरन्तर राख्नुपर्छ, चाहे च्याम्पियन्स लिग होस् वा प्रिमियर लिग। खेलाडीहरू यस चुनौतीप्रति प्रतिबद्ध हुन आवश्यक छ।’