काठमाडौं- बिहीबार एसियाली फुटबल महासंघ एएफसीले दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न मान्यता दिएको छ।
अखिल नेपाल फुटबल संघ एन्फा सिइओ इन्द्रमान तुलाधरका अनुसार राखेपले रंगशालाको सबै प्रक्रिया पुर्याएर एएफसीलाई पत्र पठाएका पछि एएफसीले प्रतियोगिता गर्न मान्यता दिएको जानकारी दिए ।
राष्ट्रिय खेलकुद परिषद् राखेपले रंगशालाको संरक्षण गर्न थालेपछि पहिलोपटक एएएफसीले मान्यता दिएको हो। यसअघि मैदान तयार नहुँदा नेपालले फिफा विश्वकप २०२६ छनोटका खेल गुमाएको थियो। नेपालले बहराइनसँगको खेल बहराइन नै पुगेर खेलेको थियो। युएईसँगको खेल साउदी अरेबियामा खेलेको हो।
मैदानको दुबो, मैदानको सतह, फ्लड लाइट र सुरक्षाको कारण देखाउँदै एएफसीले जेठमा दशरथ रंगशालामा अन्तर्राष्ट्रियस्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो। राखेपले चैतबाटै मैदानको रेखदेख र संरक्षण सुरु गरेको थियो।
एएफसीका प्रतिनिधिले ९ साउनमा दशरथ रंगशालाको निरिक्षण तथा अवलोकन गरी मापदण्ड पूरा भएको प्रतिवेदन एन्फालाई दिएको हो। अब, २९ साउनमा हुने तय भएको एएफसी च्यालेन्ज लिग छनोट प्रतियोगिता यही मैदानमा हुनेछ।