पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

चलचित्र ‘पुजार सार्की’ले दर्शकलाई दिने सन्देश के हो ?

२०८१ वैशाख २९, शनिवार ०८:१५ बजे

काठमाडौं : कुनै व्यक्तिले आफैँले बनाएको मन्दिरमा पस्न पाएन भने के हुन्छ ? कसैको शुभसाइतका लागि दमाहा बजाउने व्यक्तिमाथि तल्लोस्तरको व्यवहार गरिन्छ भने के हुन्छ ? मान्छेलाई जातकै आधारमा सम्मान नदिँदा के हुन्छ ?
स्वाभाविक रूपमा विद्रोह सुरू हुन्छ\हुनुपर्छ । तर, वर्षौँदेखि जातीय विभेद भोगेका व्यक्तिहरू आफूमाथिको विभेदलाई स्वीकार गर्न विवश बने । उनीहरूलाई यो विभेद हो भन्ने नै चेतनासमेत भर्न दिइएन ।
नेपालमा जात व्यवस्था कालान्तरमा विभेदको व्यवस्थामा स्थापित बन्यो । फलस्वरूप नेपाली समाज सभ्य समाजको चिनारीबाट विमुख हुनु परेको छ ।
समय उस्तै रहेन । देशमा जातीय विभेदको ठूला ठूला बहस भए\भएका छन् । कानूनले पनि विभेदलाई बर्जित गरेको छ । आजको दिनमा जातीय विभेद रोक्न केही हदसम्म समाजमा सकारात्मक परिवर्तनको नयाँ सिरा देखा परे पनि, विभेद पूर्णरूपले हटिसकेको भने छैन ।
एउटा मान्छे जन्मका आधार उच्च र नीच हुन सक्दैन । यही विषयलाई समेटेर जेठ १० गते प्रदर्शनमा आउँदै गरेको नेपाली सिनेमा पुजार सार्की प्रदर्शन हुँदैछ । सिनेमाका लेखक विकास सुवेदी भने यो सिनेमाले जातीय विभेद हटाएर समतामूलक समाजको निर्माणमा नयाँ ‘डिस्कोर्स’ तयार पार्न भूमिका खेल्ने सुनाउँछन् ।
बिहीबारको बिहानको भेटमा सुवेदीले पुजार सार्कीको लेखन र यसका पछाडिको रहस्य सुनाए ।
पोखराको उत्तरी क्षेत्रमा पर्छ, कास्कीकोट । धेरै वर्ष पहिले त्यहाँ कोही व्यक्ति ब्राह्मण समुदायमा जन्म लिए । जात व्यवस्था नै कसैलाई हेप्न बनाइएको हो सोच्ने ती व्यक्तिले आफूलाई मन परेकी दलित युवतीलाई बिहे गरे ।
समाजले उनको थर फेरिदयो। उनी ब्राह्मणबाट पुजार सार्कीमा परिणत भए । उनको जीवनको उतारचढाव देखेका सुवेदीले पुजारको यो कदमलाई सभ्य समाजको निर्माणका लागि ठूलो विद्रोह देख्छन् ।
’जुन चेतनाबाट म हुर्केँ। त्यसबेला पुजारको उक्त कामलाई मैले महत्त्व दिइनँ । समाजको धरातलीय अवस्था र आफ्नो विस्तार ज्ञान र विवेकले हेर्दै जाँदा म पुजारप्रति एकदमै प्रभावित बन्दै गएँ ।’ तत्कालीन समयमा समाजले पुजारको विद्रोहलाई कसरी बुझ्यो भन्दा पनि आजको दिनमा समाजको बहुसंख्यक मानिसहरूले कसरी बुझ्छन् भन्ने कुरा महत्त्वपूर्ण रहेको बताउँछन् उनी ।
कास्कीलाई कुलमण्डन शाहको राज्य तथा कश्यप ऋषिको तपोभुमिका रूपमा चिनिन्छ । तर, त्यही स्थानमा जन्मिएका पुजारले तत्कालीन समयमा विद्रोह गरेको कुरा हामीले भुल्ने नहुने उनले सुनाए । सभ्य समाजको निर्माण पुजारहरूको पनि भूमिका ऐतिहासिक छ । कास्की पुजारको जिल्ला पनि हो भन्ने चिनाउन पनि यो सिनेमा निर्माण गरेको सुवेदीले बताए ।

नेपालमा राणाशासनको युग सकियो । पञ्चायत सकियो। विस्तारै राजाको युग पनि समाप्त भयो । गणतन्त्रमा प्रवेश गरिसक्दा पनि दलितले खेप्नुपर्ने विभेदका बाछिटा सुक्न सकेका छैनन् । ठूला ठूला राजनीतिक आन्दोलनमा दलितका मुद्दा उठाइएको छ । जसले केही जागरणको काम त गर्यो तर अहिले दलितको मुद्दा दलितको मात्र हो भन्ने नयाँ भाष्य निर्माण हुन थालेको छ। ’यो दलितको समस्या हो त ?’, सुवेदी प्रश्न गर्छन् ?
सभ्य, मानवीय तथा समतामूलक समाजको निर्माण गर्ने हो भने जातीय विभेद हामी सबैको सामूहिक मुद्दा हो । जबसम्म हामीले जातीय विभेदको मुद्दालाई यो दृष्टिकोणबाट हेरिँदैन, तबसम्म दलित मुक्तिको कुराको अन्त्य हुन नसक्ने उनको बुझाइ छ ।
कुनै पनि मुद्दामा लेख्दा उक्त विषयको उठान, उडान र अवतरण मुख्य चुनौती हुने गर्दछ । यस विषयमा आफूले सक्दो मिहीन ढंगले अध्ययन गरेको पनि सुवेदीको भनाइ छ ।
’यो विषयमा सिनेमा बन्ने भएपछि दलित आन्दोलनमा लागेको धेरै अध्येताहरूलाई भेटेको छु । उहाँहरूले यो सिनेमालाई मन पराइदिनुभएको छ । मैले उठाउन खोजेको मुद्दा ठीक रहेछ भन्ने लागेको छ’, उनले भने ।

यसअगाडि सुवेदीले कर्णालीको कथामा आधारित ’प्रकाश’ सिनेमा लेखेका थिए । यसपाली भने आफ्नै घर गाउँको कथालाई सिनेमामा समेटेका छन् । पुजार सार्की सिनेमाका लागि नभइ पुस्तकका लागि लेखेका थिए उनले । अन्ततः सिनेमा बनेको उनले सुनाए ।
पुस्तक लेखकको माध्यम हो भने सिनेमा निर्देशकको माध्यम हो । कल्पनामा दृश्य निर्माण गर्नु सबैभन्दा सहज काम हो । जसमा कुनै प्रविधिको प्रयोग गर्नुपर्दैन । तर सिनेमा प्रविधिले निर्माण गर्ने विषय रहेका लागि जटिल काम हो । लेखकले निर्माण गरेको दृश्य ठ्याक्कै प्रविधिमा अटाउन नसकिने सुवेदीले बताए ।
’लेखकले भन्न खोजेको कुरा सिनेमाको केन्द्रमा भएकाले खुशी छु । मेरो शब्दले दृश्य प्राप्त गरेको छ । यसमा निर्देशक दिनेश राउतले एकदमै धेरै मिहिनेत गर्नुभएको छ’, सुवेदीले भने । सिनेमाका लागि निर्माता सुवास भुसालले ठूलो भूमिका खेलेको सुवेदीले सुनाए ।
सिनेमा वैचारिक हिसाबले ‘ह्याप्पी इण्डिङ’ हो भने चरित्रहरूको जीवनमा के कस्तो फेरबदल आए भन्ने कुरा चाहिँ सिनेमा नै हेर्नुपर्ने उनले बताए । गण्डक क्षेत्रको भाषाशैलीलाई सिनेमामा अटाइएको छ । कास्कीकोटमा नै सिनेमा खिचिएको छ । कथा भने २०४६ साल अगाडिको हो ।
सारमा यो कुनै एक स्थानको एक व्यक्तिको कथा नभइ जातीय विभेदले आक्रान्त नेपाली समाजको साझा कथाका रूपमा बुझ्न सुवेदी आग्रह गर्छन् । पुरातनवादी सोचमा जकडिएको समाजमा पुजारहरूले कसरी विद्रोह गर्छन् र विभेद हटाउन उनीहरूले कस्ता कस्ता मूल्य चुकाएछन् भन्ने कुरा पनि सिनेमामा देखाउन खोजेको उनले बताए ।
आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली, परीक्षा लिम्बुलगायत कलाकारको अभिनय रहेको सिनेमाको केही दिन अगाडि ट्रेलर सार्वजनिक भएको थियो । त्यहाँकोएक अंश
’आजट यो मन्दिराँ कुनै दमाइले दमाहा बजाउँदैनन् । तिमीहरूका पुजाँ गर्न हामीले शुभसाइत अर्दिन पर्नी ? व्यवस्था बद्लो., यिनका ठूला जाता ध्वाँस ।’