पाठशाला न्यूज
 २०८३ वैशाख ११, शुक्रवार    

सन्दीपको बलात्कार मुद्दाको आज सुनुवाइ

२०८० मंसिर २४, आइतवार १०:१६ बजे

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको आज सुनुवाइ हुने भएको छ ।
जिल्ला अदालत काठमाडौंले पटक पटक सार्दै आएको मुद्दाको फैसलाको सुनुवाइको पेसी आजका लागि तोकिएको हो । पेसी न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा यो मुद्दाको निरुपण गर्ने भएको छ ।
घिमिरेको इजलासले गत कात्तिक २३ गते सुनुवाइ गर्दै सरकारी वकिल र सन्दीपको पक्षबाट बहस गरेका कानुन व्यवसायीलाई एक महिनाभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो ।
अदालतको आदेश बमोजिम दुवै पक्षका कानुन व्यवसायीले हिजो लिखित रुपमा बहस नोट बुझाइ सकेका छन् । सर्वोच्च अदालतले गत फागुनमा नै चाँडै फसला गर्न आदेश दिएकोमा पटक पटक सर्दै आएको पेसी आजका लागि पुनः तोकिएको हो ।
सन्दीपले बलात्कार गरेको भन्दै २०७९ भदौ २१ मा बालिकाले काठमाडौंको गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । प्रहरीले जाहेरी दर्ता गरी अनुसन्धान प्रक्रिया थालेको थियो ।
त्यति वेला सन्दीप राष्ट्रिय क्रिकेट टोलीका कप्तान थिए । अनुसन्धान प्रक्रिया शुरू भएपछि नेपाल क्रिकेट संघले उनलाई निलम्बन गरेको थियो ।
गत कात्तिक १८ मा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर, उच्च अदालत, पाटनले त्यसलाई उल्टाएको थियो । उच्च अदालतले केही शर्त राखेर २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । जसमा विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्दा प्रहरीलाई खबर गर्नुपर्ने लगायत शर्त थिए ।
उनलाई रिहा गर्ने आदेश विरुद्ध महान्यायाधिवक्ताको कार्यालय र शर्त विरुद्ध सन्दीप सर्वोच्च पुगेका थिए । त्यसपछि गत फागुन १५ मा उच्चको आदेश सदर गर्दै विदेश जान अनुमति दिने आदेश गरेको थियो ।
त्यसका आधारमा उनी राष्ट्रिय टोलीबाट क्रिकेट खेल्न आवतजावत गरिरहेका छन् । यसअघि उनी क्रिकेट खेल्न विदेशमा रहेका कारण सुनुवाइ प्रक्रिया पनि रोकिएको थियो ।