काठमाडौं- अमेरिकामा रहेका नेपाली नर्स ममता काफ्लेको हत्या प्रकरणमा उनका श्रीमान् नरेश भट्टविरुद्ध आफ्नी श्रीमतीको हत्या गरेर शव लुकाएको आरोपमा औपचारिक मुद्दा चलाइएको छ ।
नरेश, जो भूतपूर्व अमेरिकी सेनाका सदस्य हुन्, जुलाई ३० मा ममताको हत्या गरेको आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् । प्रारम्भिक अनुसन्धान अनुसार, ममता र नरेशको घरको एउटा कोठामा फेला परेको रगतको डीएनए परीक्षणले उक्त रगत ममताकै भएको पुष्टि गरेको छ ।
ममताको हत्या भएको प्रमाणित भए पनि उनको शव भने अहिलेसम्म फेला परेको छैन । मानसास पार्क प्रहरी प्रमुख मारियो लुगोका अनुसार, सुरुदेखि नै यो घटना हत्या भएको आशंका गरिएको थियो । डीएनए परीक्षण र अन्य प्रमाणहरूले पनि यसलाई बलियो बनाएको छ ।
ममता, जो प्रिन्स विलयम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत थिइन्, अन्तिमपटक जुलाई २७ मा काममा उपस्थित भएको देखिएकी थिइन् । लामो समयसम्म काममा नआएपछि सहकर्मीहरूले प्रहरीलाई उनको बेपत्ताबारे जानकारी दिएका थिए ।
अगस्ट २ मा प्रहरीले ममता र नरेशको घरमा छापा मारेको थियो । सोधपुछका क्रममा नरेशले ममतालाई अन्तिमपटक जुलाई ३१ मा भेटेको बताएका थिए । तर, प्रारम्भिक अनुसन्धानपछि उनलाई अगस्ट २२ मा ममतालाई हराएको अभियोगमा पक्राउ गरिएको थियो ।
लामो अनुसन्धानपछि नरेशले ममताको हत्या गरेर शव लुकाएको प्रमाण अदालतमा पेश गरिएको छ । बुधबार अदालतमा उनीमाथि औपचारिक रूपमा अभियोग लगाइनेछ । प्रहरीले भने शव खोजी कार्यलाई निरन्तर जारी राख्ने बताएको छ ।